स्पेनिस ला लिगा

मेसीका लागि क्याम्प नोउको ढोका बन्द भएको छैनः लापोर्ता

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्ताले आफूहरु सात पटकका बालोन डी अर विजेता लियोनल मेसीप्रति सधै आधारी रहेको भन्दै उनको क्याम्प नोउ फर्कने सम्भावनामा जीवितै रहेको बताएका छन् ।

गत अगस्टमा मेसी बार्सिलोनको २१ वर्षको यात्रामा पूर्णविराम लगाउँदै फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका थिए । मेसीले बार्सिलोनाको सिनियर टोलीबाट १६ वर्ष खेलेका थिए ।

मेसीले बार्सिलोनाको सर्वकालिन गोलकर्ता बन्ने क्रममा सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । आर्थिक नियम उल्लंघन हुने भन्दै बार्सिलोनाले मेसीसँगको सम्झौता अन्त्य गरेको थियो ।

मेसी र पिएसजीबीचको सम्झौता सकिन अझै एक वर्ष बाँकी छ । तर सन् २०२१ मा पुनः बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका लापोर्ताले भने मेसीका लागि क्याम्प नोउको ढोका अझै खुल्ला रहेको बताए ।

‘मेसी बार्सिलोनाका महान खेलाडी हुन्,’ लापोर्ताले भने, ‘मलाई मेसीको क्याम्प नोउ यात्रा सधैका लागि अन्त्य भएको जस्तो लाग्दैन । हामी उनलाई स्वागत गर्न सधै तयार छौ । उनका लागि क्याम्प नोउको ढोका बन्द भएको छैन ।’

गत सिजन भने मेसीले पिएसजीका लागि सबै खाले प्रतियोगिता गरि ३४ खेलमा ११ गोल गरेका थिए भने १४ गोलका लागि असिस्ट गरेका थिए ।