महिला युरोपियन च्याम्पियनसिप २०२२

इङल्यान्ड सेमिफाइनलमा

लन्डन । स्पेनलाई २-१ ले हराउँदै घरेलु टोली इङल्यान्ड बिहीबार महिला युरोपियन च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

५४औं मिनेटमा  इस्टन गोन्जाल्वेजको गोलमा स्पेनले अग्रता लिएको थियो । ८४औं मिनेटमा इल्ला टोलीको गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९६औं मिनेटमा जर्जिया स्टानवेले गोल गर्दा इङल्यान्डले सेमिफाइनलको टिकट पक्का गरेको थियो ।

समूह चरणमा सतप्रतिशत नतिजापछि इङल्यान्ड समूह ‘ए’ को विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको थियो भने स्पेन समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गरेको थियो ।

दोस्रो क्वार्टरफाइनलमा आज जर्मनी र अस्ट्रिया आमने सामने हुँदैछन् । त्यस्तै स्विडेन र बेल्जियम तथा साविकको विजेता नेदरल्यान्ड्स र फ्रान्सले पनि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।