जर्मन बुन्डेसलिगा

बार्सिलोनामा इतिहास रच्ने लेवान्डोवस्कीको चाहाना

मियामी । पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले बार्सिलोनामा इतिहास रच्न चाहेको बताएका छन् ।

जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले लेवान्डोवस्कीलाई ५० मिलियन पाउन्डमा बार्सिलोनामा पठाएको थियो । उनी पाँच वर्षका लागि बार्सिलोनामा अनुबन्ध भएका हुन् ।

 उनले बायर्नबाट आठ पटक बुन्डेसलिगाको उपाधि जितेका छन् । गत सिजन उनले जर्मन बुन्डेसलिगामा ३५ गोल गरे । 

अघिल्लो सिजन ४१ गोलका साथ उनी एकै सिजनमा सर्वाधिक गोल गर्ने बुन्डेसलिगा इतिहासकै कीर्तिमानी फरवार्ड बनेका थिए ।

उनले त्यतिखेर ग्रेड मुलरले ४९ वर्ष अगाडि बनाएको कीर्तिमानमा सुधार गरेका थिए । मुलरले १९७१–७२ को सिजनमा बुन्डेसलिगामा ४० गोल गरेका थिए ।

बार्सिलोना जाने निर्णय लिनुअघि पोलिस स्ट्राइकरले जर्मनीको शीर्ष डिभिजनमा तीन सय ८३ खेल खेल्दै तीन सय १२ गोल गरेका छन् । जुन उनले बायर्न र त्यसअघि खेलेको बोरुसिया डर्टमन्डको जर्सीमा गरेका थिए ।

लेवान्डोवस्कीभन्दा बढि गोल जर्मनीका महान हस्ती मुलरले मात्र गरेका छन् । १९६० र १९७० को दशकमा बायर्नका लागि खेल्दा मुलरले चार सय २७ खेलमा तीन सय ६५ गोल गरेका थिए ।

‘म क्याम्प नोउमा आउँदा निकै खुशी छु । मलाई बार्सिलोनासँगको अनुबन्ध प्रक्रिया पूरा गर्न धेरै समय लाग्यो तर अन्ततः म यहाँ आइसके’, लेवान्डोवस्कीले भने, ‘मैले हिजो मियामीमा प्रि-सिजन भ्रमणमा रहेको टोलीको खेल हेरे । टोली बलियो छ । टोलीमा क्षमतावान खेलाडी छन् ।’

‘मलाई बार्सिलोना मनपर्ने क्लब हो । म टोलीका लागि धेरै भन्दा धेरै गोल गर्न चाहन्छु’, लेवान्डोवस्कीले भने, ‘मेरो लागि यो नयाँ लिग हो । त्यसैले चुनौती पनि छ । म सधै जित्न चाहन्छु । म बार्सिलोनमा इतिहास रच्न चाहन्छु ।’

बार्सिलोनाका प्रशिक्षक जाभी लेवान्डोवस्कीसँगै राफिन्हा, फ्रयांक केइसी र आन्द्रेस क्रिस्टेनसेनको आगनमले नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन् ।