नेपाली फुटबल

युवा टोलीको प्रारम्भिक छनोट: देशभरका खेलाडीलाई एक दिनको समय

anfa logo

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु १७ च्याम्पियनसिप र एएफसी यु १७ एसियन कप छनोटका लागि राष्ट्रिय युवा टोली बनाउन खेलाडीको प्रारम्भिक छनोट आह्वान गरेको छ ।

मंगलबार जिल्ला फुटबल संघहरु तथा क्लबहरुको नाममा सुचना जारी गर्दै एन्फाले बुधबारसम्ममा छनोटका लागि खेलाडीलाई सम्पर्क गराउन भनिएको छ । एन्फाका महासचिव किरण राईद्धारा हस्ताक्षरित उक्त सुचनामा छनोट कार्यक्रम साउन ९ गते सोमबारबाट सुरु हुने जानकारी गराइएको छ ।

सुचनामा खेलाडीले अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र, जन्म दर्ता प्रमाण पत्र र पासपोर्ट ल्याउनुपर्ने र बसोबास, यातायात तथा खानपिनको व्यवस्था आफै गर्नुपर्ने उर्दी पनि जारी गरिएको छ ।

क्लब र जिल्लाका पदाधिकारीहरुले भने छोटो समयको सुचना जारी गरेर एन्फाले हुकुमी शैली प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् । एक दिनको सुचनाका भरमा खेलाडी पहिचान गर्न, उनीहरुसँग सम्पर्क गर्न र अन्य अत्यावश्यक प्रवन्ध गर्न समेत नभ्याइने भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् ।

‘सुचना जारी गरेको एक दिनभित्र खेलाडी पहिचान गरेर एन्फामा पठाउन सम्भव नै हुँदैन । त्यसमाथि राष्ट्रिय परिचय पत्र र पासपोर्ट ल्याउनुपर्ने भनिएको छ । यति छोटो समयमा राष्ट्रिय परिचय पत्र र पासपोर्ट बनाउन पनि समय पुग्दैन । यो त सबै खेलाडी र डकुमेन्ट तयार हुँदा काठमाडौंसम्म पुग्नका लागि मात्र आवश्यक पर्ने समय हो,’ प्रदेश एकको एक जिल्ला फुटबल संघका अध्यक्षले खेलाडीसँग भने, ‘बोलबोल माछा मुखभरी पानीको अवस्था भएको छ । अहिले बोलौं भने विरोध गरेजस्तो हुन्छ । तर नबोलौं सहनै नसकिने खालको अव्यवहारिक उर्दी जारी गरेको छ ।’

छनोटका लागि आउँदाको सम्पूर्ण खर्च पनि खेलाडीले नै बेहोर्नुपर्ने भनेर ‘अर्को खराव परम्परालाई निरन्तरता दिइएको’ उनको गुनासो थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय हुनुको नाताले एन्फा स्वयमले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोट सञ्चालन गर्नुपर्ने र कलिला खेलाडीलाई आर्थिकलगायतका दबाब दिनु नहुने उनको मत छ ।

भदौ २० देखिसाफ यु १७ च्याम्पियनसिप श्रीलंकामा तथा र असोज १५ देखि २३ गतेसम्म एएफसी यु १७ एसियन कप छनोट भियतनाममा हुने तय छ ।