नेपाली फुटबल

युवा टोलीको प्रारम्भिक छनोट, एन्फाले सच्यायो सुचना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु १७ च्याम्पियनसिप र एएफसी यु १७ एसियन कप छनोटका लागि राष्ट्रिय युवा टोली बनाउन छनोटका लागि हुकुमी शैलीमा जारी गरेको सुचना सच्याएको छ ।

खेलाडीको प्रारम्भिक छनोटका लागि यसअघि जारी गरिएको सुचनामा एक दिनकोमात्र समय दिइएकोमा त्यसलाई बढाएर पाँच दिन पुर्याइएको छ ।

मंगलबार जिल्ला फुटबल संघहरु तथा क्लबहरुको नाममा सुचना जारी गर्दै एन्फाले बुधबारसम्ममा छनोटका लागि खेलाडीलाई सम्पर्क गराउन भनिएकोमा त्यसलाई सच्याएर सोमबारसम्मको समय दिइएको छ । एन्फाका महासचिव किरण राईद्धारा हस्ताक्षरित सुचनामा खेलाडीले अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र, जन्म दर्ता प्रमाण पत्र र पासपोर्ट ल्याउनुपर्ने उल्लेख भएकोमा त्यसलाई सच्याएर राष्ट्रिय परिचयपत्र, जन्मदर्ता र पासपोर्टमध्ये एक ल्याउनुपर्ने भनिएको छ । छनोट कार्यक्रम साउन ९ गते सोमबारबाट सुरु हुने बताइएको छ ।

खेलाडीले बसोबास, यातायात तथा खानपिनको व्यवस्था आफै गर्नुपर्ने उर्दी भने यथावत राखिएको छ ।

क्लब र जिल्लाका पदाधिकारीहरुले भने छोटो समयको सुचना जारी गरेर एन्फाले हुकुमी शैली प्रदर्शन गरेको प्रतिक्रिया दिएको भन्दै चौतर्फी आलोचना भएपछि सच्याइएको हो । 
भदौ २० देखिसाफ यु १७ च्याम्पियनसिप श्रीलंकामा तथा र असोज १५ देखि २३ गतेसम्म एएफसी यु १७ एसियन कप छनोट भियतनाममा हुने तय छ ।