नेपाल क्रिकेट संघ

निराशाजनक प्रदर्शनपछि टिम घरतिर, म्यानेजर बेलायत सयरमा

काठमाडौं । स्कटल्यान्डमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा विर्सन लायक प्रदर्शन गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्कियो ।

फ्लाई दुबईको विमानबाट नेपाली टोली फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिम म्यानेजर विरेन्द्र चन्द भने सँगै थिएनन् । टिमलाई सकुसल घरसम्म ल्याउनुपर्ने जिम्मेवारी म्यानेजरको हो । तर, नेपाली टिमका म्यानेजर त्यो जिम्मेवारीको वास्था नगरिकन स्कटल्यान्डबाट बेलायतको सयरमा निस्किए । टिम घर फर्किइरहँदा म्यानेजर चन्द भने बेलायत घुमफिरका आकर्षक तस्बिरहरु फेसबुकमा पोष्ट गर्नमा व्यस्त थिए ।

नेपाली क्रिकेटमा यस्तो बेथितिको घटना यो पहिलो होइन । पछिल्लो समय त नेपाली राष्ट्रिय टोलीले विदेशमा खेल्ने शृंखलाहरु पदाधिकारीका लागि घुमफिरको आकर्षक बहाना बन्ने गरेका छन् । हालैको अमेरिका भ्रमण दौरान पनि अध्यक्ष चतुरबहादुर चन्दलगायतका पदाधिकारी घुम्नकै लागि गएको भनेर क्यानभित्रै त्यसको व्यापक आलोचना भएको थियो ।

‘टिमको भ्रमण दौरान खानपिन तथा अन्य व्यवस्था मिलाउन, पर्न सक्ने सबैखाले समस्या समाधान गर्न, खेल दौरान अभ्यास तथा अन्य व्यवस्था गर्ने, खेल पोशाक र खेल सामाग्रीहरुको उचित व्यवस्थापन गर्नेलगायत सबै जिम्मेवारी टिम म्यानेजरको हो,’ क्यानका एक सदस्यले खेलाडीसँग भने, ‘पछिल्लो समय हाम्रो टिमभित्रै आन्तरिक समस्या रहेको भन्ने कुरा पनि बाहिर आएको छ । तर हाम्रो म्यानेजर ज्यूले त्यसमा ध्यान दिएको देखिएन । टिमलाई बीचमै छोडेर उहाँ विदेश सयरमा निस्कनुभयो ।’

टिमभित्र खेलाडीबीचमै असमझदारी उत्पन्न भएको र प्रदर्शनमा पनि त्यसको अशर परेको आशंका गर्दै क्यानका ती सदस्यले भने, ‘टिममा खेलाडीबीचको एकता विग्रनुमा पनि क्यान पदाधिकारीहरुको चलखेल भन्ने कुरा सुनिएको छ । यति कमजोर प्रदर्शन र सबैतिर आलोचना भएको बेला त टिम फर्किने वित्तिकै क्यानले समिक्षा बैठक राखेरै कुरा बुझ्नुपर्छ । त्यसमा टिम म्यानेजरको उपस्थिती सबभन्दा महत्वपूर्ण हुन्छ । तर क्यान त पछिल्लो समय विदेश भ्रमण गराउने ट्राभल एजेन्सी जस्तो बनेको छ । हामी बैठकमा कुरा उठाउँछौं ।’

स्कटल्यान्डमा नेपालले चारमध्ये एक खेल जितेको थियो भने तीन खेलमा हार भोगेको थियो । पहिलो खेलमा नामिबियासँग ४० रनको हार भोगेको नेपाल दोस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले हराउन सफल भएको थियो । तेस्रो खेलमा नामिबियासँग ६३ रन तथा अन्तिम खेलमा घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

२० खेलमा १७ अंक जोडेको नेपाल विश्वकप क्रिकेट लिग २ को अंकतालिकामा छैटौं स्थानमा छ । शीर्ष टोली ओमानले सबै ३६ खेल खेलिसक्दा ४४ अक जोडेको छ । दोस्रो स्थानको स्क्टल्यान्डले २४ खेलमा ३४ अंक बटुलेको छ । तेस्रो स्थानको संयुक्त अरब इमिरेट्र (युएई)ले २२ खेलमा २६, चौथो स्थानको अमेरिकाले २४ खेलमा २३, पाँचौं स्थानको नामिबियाले १८ खेलमा १८ अंक जोड्दा पुछारको पपुवन न्युगिनी (पिएनजी)ले २० खेलमा २ अंक मात्र जोडेको छ ।