महिला युरोपियन च्याम्पियनसिप २०२२

महिला युरोको क्वार्टरफाइनल आजबाट, पहिलो खेलमा आयोजक इङ्ल्यान्ड र स्पेन

इङ्ल्यान्डकी फर्वार्ड बेथ मेड । तस्बिर: एजेन्सी

म्यानचेस्टर । युरो २०२२ ले महिला युरोपियन च्याम्पियनसिपको इतिहासमै सबभन्दा धेरै दर्शक उपस्थितीको कीर्तिमानमा सुधार गरिसकेको छ । बुधबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुने प्रतियोगिताको अन्त्यसम्ममा यसको नाफाले उत्साहजनक नयाँ उचाई हासिल गर्ने पक्का छ ।

तुलनात्मक रुपमा पुरुषको दाँजोमा कम चासो रहने गरेको महिला फुटबल इतिहासमै यति धेरै उत्साहका साथ अघि बढिरहँदा आज बुधबार साँझ घरेलु टोली इङ्ल्यान्ड र स्पेनबीच अन्तिम आठको पहिलो खेल हुनेछ । जहाँ आयोजक इङ्ल्यान्ड लगातार चौथो मुख्य प्रतियोगिताको सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

समूह चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको इङ्ल्यान्डले निक्कै रवाफका साथ क्वार्टरफाइनलको यात्रा गरेको थियो । समूह चरणमा १४ गोल गरेको टोलीले एउटै गोल खाएको थिएन । त्यसमा ब्राइटनमा नर्वेमाथि हासिल गरेको ८-० को फराकिलो जित पनि सामेल छ । तर बुधबार एमेक्समा भने टोलीको चुनौती फरक हुनेछ ।

यसपालीकी बालन डी अर विजेता एलेक्सिया पुटेलास र सर्वकालिन उच्च गोलकर्ता जेनिफर हेर्मोसो चोटका कारण नबाहिरिएसम्म स्पेन प्रतियोगिताको उपाधि दाबेदारको हैसियतमा थियो ।

पुटेलास र हेर्मोसोको अनुपस्थिती स्पेनको टिममा नराम्ररी खट्किइरहेको छ । मुख्य दुई खेलाडी नहुँदा जर्मनीसँग २-० को हार भोगेको स्पेन अन्तिम समयमा मार्टा कार्डोनाले गरेको हेड गोलमा डेनमार्कमाथि १–० को जित हासिल गर्दै अगाडि बढेको थियो ।

घरेलु टोली इङ्ल्यान्ड क्वार्टरफाइनलमा यसअघिका खेलमा जस्तै आक्रामक शैलीलाई निरन्तरता दिने की जर्मनीले जस्तै पछाडि बसेर स्पेनले दिन खोज्ने दबाबलाई पाखा लगाउँदै अगाडि बढ्ने भन्ने दुविधामा हुनेछ ।

कोभिड १९ संक्रमणका कारण नर्दन आयरल्यान्डमाथि ५-० को जित हासिल गर्दा पनि अनुपस्थित रहेकी प्रशिक्षक सारा वेगम्यान आज पनि इङ्लिस टोलीको साथमा नरहन सक्छिन् । तथापि उनको पछिल्लो परिक्षणमा निगेटिम नतिजा आएको अवस्थामा भने उनी पुनः टचलाइनमा फर्किनेछिन् ।

‘मेरो विचारमा यो जारी युरोपियन च्याम्पियनसिपमा हाम्रा लागि सबभन्दा कठिन खेल हुनेछ । इङ्ल्यान्ड निक्कै राम्रो लयमा छ । उनीहरु आफ्नै देशमा घरेलु समर्थकको साथसँगै मैदान उत्रिनेछन् । तर उनीहरुको त्यही बलियो पक्षले हामीलाई पनि केही गर्ने उर्जा प्रदान गर्नेछ,’ स्पेनका प्रशिक्षक जर्ज भिल्डाले भने, ‘हामीलाई चुनौती मन पर्छ । त्यही चुनौती सामना गर्ने भावनाका साथ हामी विजयी नतिजा ल्याउनलाई मैदान प्रवेश गर्नेछौं । तत्कालका लागि हाम्रो पहिलो लक्ष्य सेमिफाइनल हो ।’