नेपाली फुटबल

भागबण्डा मिलाउन व्यस्त एन्फा पदाधिकारीलाई प्रशिक्षकको ध्यानाकर्षण

काठमाडौं । फुटबल प्रशिक्षक संघका अध्यक्ष राजेन्द्र तामाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित नेतृत्वलाई प्रशिक्षकहरुले सात महिनादेखि तलब खान नपाएको विषयमा ध्यानाकर्षण गराएका छन् ।

एन्फामा प्रमूख कार्यकारी अधिकृत (सिइओ), सहमहासचिव, सह कोषाध्यक्ष र प्रवक्तालगायतका पदमा भागबण्डा मिलाउन दिनरात कसरत गरिरहेका एन्फा पदाधिकारीहरुलाई सम्बोधन गर्दै तामाङले प्रशिक्षकका मुद्धामा पनि ध्यान दिन आग्रह गरे ।

‘नवनिर्वाचित एन्फा कार्यसमितिका सदस्य ज्यु हरु, प्रशिक्षक संघको अध्यक्षको नाताले के भन्न चाहन्छु भने हजुरहरु वर्तमानमा सिइओ, सहमहासचिव तथा अन्य पदहरुको लागि जसरी एकअर्कामा बहस गर्दै हुनुहुन्छ  नी, त्यसरी नै एन्फामा कार्यरत ३९ जना जिल्ला प्रशिक्षक, प्रदेश प्रशिक्षक र प्राविधिक प्रमूखहरुले विगत सात महिनादेखि पाउनुपर्ने तलब एएफसीबाट रोक्का भएको सुन्नमा आएको छ,’ फुटबल विकासको एजेन्डा लिएर चुनावमा उत्रिए पनि जितेपछि आ-आफ्नै दुनो सोझ्याउनमा केन्द्रित भएका पदाधिकारीहरुलाई तामाङले फेसबुक स्ट्याट्समार्फत व्यंगात्मक तरिकाले आग्रह गरे, ‘त्यसमा हजुरहरुले पहल गरेर चाँडो भन्दा चाँडो प्रशिक्षकहरुलाई उपलब्ध गराउनको लागि अग्रसर भई आगामी दिनमा विगतमा जस्तै नेपाली युवा, ग्रासरुट खेलाडी उत्पादन गर्ने गराउने गरी प्रशिक्षक ज्युहरुमा छुट्टै उर्जा मिल्ने खालको खुसी दिलाउनुस ।’

सिइओ, सह महासचिव, प्रवक्ता, सह कोषाध्यक्षलगायतका नियुक्तिमा भागबण्डा नमिल्दा निर्वाचित भएको एक महिना नबित्दै एन्फा कार्यसमिति विभिन्न टुक्रामा विभाजित भइसकेको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि यिनै नियुक्तिमा केन्द्रित हुने अपेक्षा गरिएको सोमबारको बैठक स्थगित भएको थियो ।

सोमबार स्थगित गरिएको बैठक बिहीबार बस्ने भएको छ । बैठकअघि नै आन्तरिक छलफलबाट भागबण्डा मिलाउन नेम्वाङ प्यानलबाट चुनाव जितेर पछि विभिन्न गुटमा फुट भइसकेका समूहहरु अहिले व्यस्त छन् । बिहीबारको बैठक पनि भागबण्डा मिलाएर नियुक्ति गर्ने विषयमै केन्द्रित हुने पक्का छ ।