म्यानचेस्टर सिटी

सिटी र रोड्रीबीचको सम्झौता नविकरण

लन्डन । इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले मिडफिल्डर रोड्रीसँगको सम्झौता नविकरण गरेको छ ।

स्पेनका २६ वर्षीय मिडफिल्डर रोड्री सिटीको ‘डिफेन्सिभ एरिया’ मा पनि उत्तिकै प्रभावकारी देखिएका छन् । गएको सिजन प्रिमियर लिगको उपाधि जित्दा अन्तिम तथा उपाधि निर्णायक खेलमा एस्टोन भिल्लालाई ३–२ ले हराउँदा रोड्रीले एक गोल गरेका थिए । उक्त खेलमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले पुनरागनम जित निकाल्दै प्रिमियर लिगको उपाधि जितेको थियो ।

पछिल्लो सम्झौताको दुई वर्ष बाँकी रहे पनि सिटीले रोड्रीसँग थप तीन वर्षको नयाँ सम्झौता गरेको हो । नयाँ सम्झौतासँगै रोड्रीले सन् २०२६–२७ को सिजनसम्म सिटीबाट खेल्ने भएका छन् ।

सन् २०१९ मा एट्लेटिको मड्रिडबाट सिटी अनुबन्धित भएका रोड्रीले त्यसयता क्लबबाट एक सय ५१ खेल खेलेका छन् । यसक्रममा उनले दुई प्रिमियर लिगको उपाधि र इएफएल कपको उपाधि जितेको छन् ।