महिला युरोपियन च्याम्पियनसिप

महिला युरोपियन च्याम्पियनसिपः समूह ‘सी’ का सबै खेल बराबर

लन्डन । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत शनिबार राति भएका समूह ‘सी’ का दुबै खेल बराबरीमा टुङ्गिएको छ ।

समूह ‘सी’ को पहिलो खेलमा साविक विजेता नेदरल्यान्ड्स स्विडेनसँग १–१ को र पोचुर्गल स्विट्जरल्यान्डसँग २–२ को बराबरीमा रोकिएका हुन् ।

शनिबारको पहिलो खेलमा पोर्चुगलविरुद्ध स्विट्जरल्यान्डले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । स्विट्जरल्यान्डका कोउम्बा स्वले गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस्तै, पाँचौ मिनेटमा राहेल किविचले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर पारिन् ।

तर, पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड अंक बाढ्न बाध्य बन्यो ।

खेलको ५८औं मिनेटमा गिएना गोमेजले गोल गर्दै पोर्चुगललाई २–१ को अवस्थामा फर्काइन् । यसपछि ६५औं मिनेटमा जेसिका सिल्भाले गोल गरेपछि खेल २–२ को बराबरीमा टुङ्गियो ।

शनिबारको दोस्रो खेलमा भने साविक विजेता नेदरल्यान्ड्सविरुद्ध स्वीडेनले अग्रता लिएको थियो । स्वीडेनकी जोना एन्डरसनले ३६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

तर, ५२औं मिनेटमा जिल रुर्डले गोल गर्दै नेदरल्यान्ड्सलाई बराबरीमा फर्काइन् ।

बराबरीमा रोकिएसँगै समूहका सबै टिमले समान एक अंक जोडेका छन् ।