भारतीय क्रिकेट

इङ्ल्यान्डविरुद्धको ट्वान्टी २० शृंखला एक खेलअगावै भारतलाई

लन्डन । इङ्ल्यान्डविरुद्धको तीन खेलको ट्वान्टी २० क्रिकेट शृंखला पाहुना टिम भारतले एक खेलअगावै जितेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टिममाथि ४९ रनको जित दर्ता गरेसँगै भारतले शृंखलामा २–० को अग्रता लिएको हो ।

भारतले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १७ ओभरमा सबै विकेट गुमाउनु अघि एक सय २१ रनमात्र बनाउन सक्यो ।

इङ्ल्यान्डका मोइन अलिले सर्वाधिक ३५ रन बनाए । यसबाहेक, डेविल विलेले ३३, डेविड मलानले १९ र लियम लिभिङ्स्टोनले १५ रन जोडे ।

घरेलु टिमलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले तीन ओभरमा बलिङमा १५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यस्तै, जसप्रित बुमराहले र युजवेन्द्र चहलले दुई–दुई विकेट लिँदा हर्सल पटेल र हार्दिक पन्ड्याले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रनको योगफल तयार पारेको थियो ।

भारतका रविन्द्र जडेजाले सर्वाधिक ४६ रन बनाएका थिए । कप्तान रोहित शर्माले ३१ रन जोड्दा ऋषभ पन्तले २६ र सुर्यकुमार यादवले १५ रन बनाएका थिए ।

इङ्ल्यान्डका क्रिस जोर्डनले चार विकेट लिँदा रिचार्ड ग्लेसनले तीन विकेट लिए ।