महिला साफ च्याम्पियनसिप

पाकिस्तानले महिला साफ च्याम्पियनसिप खेल्ने

इस्लामबाद । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तान फुटबल महिला फुटबल टिमले आगामी महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले शनिबार राति सामाजिक सञ्जालमार्फत भदौ १३ गतेदेखि २५ गतेसम्म नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा आफ्नो टिमले पनि प्रतिस्पर्धा गर्ने पुष्टि गरेको हो ।

पाकिस्तानको सहभागितासँगै प्रतियोगितामा साफका सातौं राष्ट्रको सहभागिता हुने भएको छ ।

पाकिस्तानी महिला टिमले आठ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । प्रतिबन्ध फुकुवा भएसँगै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने पाकिस्तानी फुटबलले जनाएको छ ।

यसअघि सन् २०२१ को अप्रिलमा पिएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एक सामान्यिकरण कमिटि गठन भएको थियो । जसले पिएफएफलाई पूर्णरुपमा आफ्नो मातहतमा ल्याएपछि फिफाले प्रतिबन्ध पछिल्लो हप्तामात्र प्रतिबन्ध फुकुवा गरेको थियो । यद्यपि, उक्त कमिटिलाई स्वतन्त्र रुपमा काम गर्न नदिएमा फेरि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ ।