युरोका अभ्यास खेलमा स्विडेन र रुस विजयी

पेरिस, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) को तयारीमा रहेको स्विडेनले शनिबार मैत्रीपूर्ण खेलमा अर्मानियालाई पराजित गर्दा वेल्स भने बराबरीमा रोकिएको छ । 

स्विडेनले अर्मानियालाई ३-१ को नतिजनमा हराएको हो । १६औं मिनेटमा इमिल फोस्बर्गले गरेको गोलमा स्विडेनले अग्रता लिएको थियो । ३४औं मिनेटमा मार्कुस ड्यानियलसनले स्विडेनको अग्रता दोब्बर पारेका थिए । ६४औं मिनेटमा विचायिनाले एक गोल गरेर अर्मानियालाई खेलमा फर्काउने संकेत गरेका थिए । तर खेल सकिन ४ मिनेट बाँकी रहँदा बर्जले गरेको गोलमा स्विडेनले युरो २०२० अघिको अन्तिम अभ्यास खेलमा जितका साथ मनोबल उच्च पार्‍यो । 

समूह ‘इ’ मा रहेको स्विडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरो २०२० को सुरुआत गर्नेछ । त्यस्तै समूहको दोस्रो खेल स्विडेनले १८ मा स्लोभाकियासँग खेल्नेछ भने समूहको अन्तिम खेलमा जुन २३ मा पोल्यान्डको सामना गर्नेछ ।

शनिबारै भएको अर्को अभ्यास खेलमा वेल्स भने अल्बानियासँग गोलरहित बराबरीमा रोकिएको छ । समूह ‘ए’ मा रहेको वेल्सले टर्की, इटाली र स्विट्जरल्यान्डको सामना गर्नेछ ।

त्यस्तै शनिबारै सम्पन्‍न अर्को अभ्यास खेलमा रुसले बुल्गेरियालाई १-० ले हरायो ।