जोर्डनमाथि विजय हासिल गर्नेमा नेपाली प्रशिक्षक अल्मुताइरी विश्‍वस्त

काठमाडौं, (खेलाडी)– नेपाली राष्‍ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्द्ल्लाह अल्मुताइरीले कुवेतको मैदानमा विश्‍वकप तथा एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत भोली जोर्डनको सामना गर्दा दुई वर्षअगाडिको नतिजा उल्टाउने विश्‍वास व्यक्त गरेका छन् ।

विश्‍वकप २०२२ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणका दोस्रो लेगका लागि नेपाली राष्‍ट्रिय टोली अहिले कुवेतको भ्रमणमा छ । त्यसअघि अघिल्लो शनिबार नेपालले इराकसँग बग्दादमा मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाली टोली ६-२ को नतिजामा पराजित भएको थियो । सोमबार कुवेत पुगेको टोलीले बिहीबार विश्‍वकप तथा एसियन कपको छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्धको खेलमा २-० को जित हासिल गरेको थियो । 

देशमा कोरोना भाइरसको महामारी डरलाग्दो ढंगले बढ्न थालेका कारण नेपालले विश्‍वकप तथा एसियन कपको छनोट अन्तर्गतका तीनवटा घरेलु खेलहरु कुवेतमा खेल्न लागेको हो । यसअघि नेपालले महामारी सुरु हुनुपूर्व नै अवे खेलका लागि चाइनिज ताइपेई, जोर्डन, कुवेत र अस्ट्रेलियाको भ्रमण गरिसकेको थियो । कुवेतविरुद्धको घरेलु खेल पनि नेपालले भुटानमा खेलेको थियो । चाइनिज ताइपेइविरुद्धको खेल जितिसकेको नेपालले भोली जोर्डन तथा जुन ११ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

विश्‍वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले यसअघिका छ खेलमध्ये दुईमा जित निकालेको थियो भने ४ खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० को फराकिलो पराजय भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा ०-२ को नतिजामा पराजित गरेको थियो ।

तेस्रो खेलमा अस्ट्रेलियासँग ५-० को हार बेहोरेको नेपाल चौथो खेलमा जोर्डनसँग ३-० गोलको नतिजामा पराजित भयो । भूटानमा भएको कुवेतविरुद्धो दोस्रो लेगमा १-० ले पराजित भएको नेपालले बिहीबार चाइनिज ताइपेईमाथि फेरी २-० कै अन्तरमा जित हासिल गरेको थियो ।

पहिलो लेगमा ३-० को हार भोगे पनि यसपाली भने जोर्डनलाई हराउनेमा नेपालका मुख्य प्रशिक्षक अल्मुताइरी आशावादी छन् । 

‘धेंरैले हामीलाई जोर्डनविरुद्धको खेलमा अन्डरडग मानेका छन् । तर प्रत्येक खेल गोलरहित अवस्थामा सुरु हुन्छ र मैदानमा दुवै टिमले गर्ने प्रदर्शनका आधारमा नतिजा निस्कन्छ । हामी जितको उद्देश्यका साथ मैदान प्रवेश गर्नेछौं,’ आइतबार खेलअघिको पत्रकार सम्मेलनमा अल्मुताइरीले भने, ‘एसियन कपको छनोटअन्तर्गत तेस्रो चरणलाई छनोट हुनु हाम्रो उद्देश्य हो । त्यसका लागि हामीले जोर्डनमाथि जित हासिल गर्नुपर्छ । हामीले जोर्डनविरुद्धको खेलका लागि पनि चाइनिज ताइपेईविरुद्धको खेलका लागि जस्तै आवश्यक तयारी गरेका छौं ।’

जोर्डनका मुख्य प्रशिक्षक भिटाल बोर्केलम्यान्सले नेपालको खेल्ने शैलीमा परिवर्तन आएकाले खेलअघि नतिजाबारे कुनै ठोकुवा गर्न नसक्ने बताए । 

‘पक्कै पनि हामी नेपालविरुद्धको खेलमा दाबेदार हौं । सबैले हामी त्यो खेलबाट तीन अंक हासिल गर्न सफल हुने अनुमान गरेका छन् । तर फुटबलमा जस्तोसुकै नतिजा पनि सम्भव हुन्छ, त्यसैले हामी सचेत भएर मैदान उत्रिनेछौं,’ बोर्केलम्यान्सले भने, ‘नेपालले चाइनिज ताइपेई र इराकसँग खेलेको खेल मैले हेरेँ । उनीहरुको स्तर र खेल शैली धेरै परिवर्तन भएको छ ।’

नेपाली टोलीः

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

रक्षकः अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्‍ठ, रोहित चन्‍द, सुमन अर्याल, विकाश खवास

मिडफिल्डरः एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान

फरवार्डः अभिषेक रिजाल, अन्जन विष्‍ट, नवयुग श्रेष्‍ठ, आशिष लामा, सुमन लामा