युरोपियन च्याम्पियनसिपको सुखद क्लाइमेक्सनजिक भावुक गालाहरको दुःखद कथा

लन्डन, (खेलाडी)- म भावुक मान्छे हुँ । मेरो जीवनमा जे भयो तपाईले थाहा पाउनु भयो भने तपाई पनि भावुक बन्‍नु हुनेछ ।

डेक्लेन गालाहर राष्‍ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउँदा आफ्नी श्रीमती निक्कीको हर्षको आशु र आफ्नी कान्छी छोरी सेको बोली सम्झन्छन् । सर्बियामा युरो २०२० टिकट पक्का गरेपछि ड्रेसिङ रुममा बस्दा आफ्ना बुबाले पठाएको भावुक सन्देश पनि उनी सम्झन्छन् । जुन शब्दमा वर्णन गर्न उनी सक्दैनन् ।

युरो २०२० का लागि स्कटल्यान्डको राष्‍ट्रिय टोलीमा स्थान बनाउनु अघि गालाहारले निकै कठिन दिनहरु पार गर्नु पर्‍यो । उनका लागि स्कटल्यान्डको राष्‍ट्रिय टोलीबाट खेल्नु असम्भव जस्तै बनिसकेको थियो, तर उनले आफूलाई प्रमाणित गर्दै राष्‍ट्रिय टोलीको प्रतिनिधित्व गर्ने सपना साकार पारे । अब त्यो कठिन क्षणबाट उनले छुटकारा पाएका छन् ।

सेल्टिकको यु १९ टोलीमा प्रशिक्षणको अवसर पाएका गालाहर क्लबको पहिलो रोजाईका खेलाडीसँगै अभ्यास गर्दथे । सन् २०१० मा सेल्टिकले स्कटिस कपको उपाधि जित्दा उनी टोलीका सदस्य थिए । उनी सेल्टिकबाट सन् २०१३ मा मास्‍टानरमा लोनमा गएका थिए । तर उनले त्यहाँ पहिलो रोजाईबाट खेल्ने अवसर नै पाएनन् । सन् २०१४ मा उनलाई लिभिङस्टोनले स्कटिस प्रिमियर लिगका लागि अनुबन्ध गर्‍यो । 

तर क्लबमा अनुबन्धन भएको एक सिजन पछि नै आपराधिक घटनामा दोषी पाइएपछि गालाहरमाथि तीन वर्षको जेल सजाय सुनाइयो । सन् २०१३ मा एक बिवाह समारोहमा भएको वादविवादका क्रममा हातपात हुँदा ७ जना गम्भीर घाइते भएका थिए भने होटलमा पनि व्यापक क्षती भएको थियो । सन् २०१५ मा उनी केही महिना जेल बसे । तर केही महिनापछि धरौटीमा छुटेका थिए । लिभिङस्टोनबाट सन् २०१५/२०१६ को सिजनका केही खेल पनि खेले । तर पुनरावेदन अदालतले गालाहरको अपिल खारेज गर्दै उनलाई पुनः जेल पठाउन आदेश दिएको थियो । सन् २०१८ मा जेलबाट रिहा भएलगत्तै लिभिङस्टोनले उनलाई पुनः टोलीमा अनुबन्धन गरेको थियो ।

तीन वर्षको जेल साजयपछि गालाहर स्कटल्यान्डको राष्‍ट्रिय टोलीबाट खेल्ने सपनामा पूर्णविराम लाग्यो भन्‍ने सोच्‍न थालिसकेका थिए ।

सन् २०१९ अक्टोबर ६ मा  उनी पहिलो पटक स्कटल्यान्डको राष्‍ट्रिय टोलीमा स्थान बनाउन सफल भए । तर उनले टोलीमा समावेश भए पनि युरो २०२० को छानेट अन्तर्गत रुस र सानमारियोविरुद्धको खेलमा अवसर पाएनन् । सोही महिनाको अन्त्यमा भएको साइप्रसविरुद्ध २-१ को जित हात पारेको खेलमा गालाहरले स्कटल्यान्डको राष्‍ट्रिय टोलीबाट खेल्दै आफ्नो सपना साकार पारेका थिए ।

सन् २०१३ को घटनाको ८ वर्ष बितिसकेको छ र गालाहरसँग आफ्नो क्षमता प्रमाणित गर्ने अर्को अवसर आएको छ, आसन्‍न युरोपियन च्याम्पियनसिप (युरो २०२०) ।

‘मेरा लागि त्यो कालो दिन थियो,’ गालाहरले भने, ‘मैले यस्तो घटनामा मुछिन्छु भनेर कल्पना समेत गरेको थिइन । आवेगले मेरो जीनवको स्वर्णिम समय खेर गयो । तर मैले आफूलाई प्रमाणित गर्ने दोस्रो अवसर पाएको छु । जसलाई म खेर जान दिन चाहन्‍न । म मेरो लक्ष्य नजिक छु । परिवार र टोलीले मप्रति गरेको विश्‍वासको लागि सधै आभारी छु ।’

समूह ‘डी’मा रहेको स्कटल्यान्डले जुन १४ मा चेक रिपब्लिकविरुद्ध खेल्दै युरो २०२० मा आफ्नो यात्राको थालनी गर्नेछ । स्कटल्यान्डले जनु १९ मा इङल्यान्ड र जुन २३ मा क्रोएसियाको सामना गर्नेछ ।