लियोनल मेसी

मेसीसँग सम्बन्धित १० रोचक तथ्य

ब्युनस आयर्स । विश्व फुटबलमा हाल लियोनल मेसीका नामले परिचित लुइस लियोनल आन्द्रेस मेसीको जन्म सन् १९८७ जुन २४ मा अर्जेन्टिनाको सानो सहर रोसारियोमा भएको थियो ।

फुटबलले पाएका सर्वकालिन महान खेलाडीमध्ये एक मेसी गरिव परिवारमा हुर्किएका थिए । ११ वर्षको उमेरको हुँदा मेसीमा ‘ग्रोथ हार्मोन डिफिसियन्सी’ देखिएको थियो । तर, उनको परिवारसँग तत्कालिन समयमा प्रतिमहिना ९ सय डलर पर्ने उनको उपचार गर्न सक्ने आर्थिक अवस्था थिएन ।

मेसीले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौतापछि मात्र उक्त रोगविरुद्धको सही उपचार पाए । सिधा अर्थमा उनको उपचार फुटबलले गरेको थियो ।

मेसीले सन् २०१७ मा आफ्नो बाल्यकालदेखिको प्रेमिका एन्टोनेला रोकुजोसँग विवाह गरेका थिए । हाल उनीहरुको थियागो, सिरो र माटेओ मेसी गरी तीन सन्तान छन् ।

सर्वाधिक सात पटक फुटबलको प्रतिष्ठित अवार्ड बालन डी’ अरक जितेका मेसीको जन्मदिनमा उनको बारेमा १० तथ्य जानौंः

१. मेसीलाई उनको रफ्तार र छिटो दिशा परिवर्तन गर्न सक्ने क्षमताका कारण फुटबल जगतमा ‘द फ्लिय’ को नामले पनि चिनिन्छ ।

२. मेसी विश्वकै धनी फुटबलरमध्येका एक हुन् ।

३. कार्लोस रेक्साच, तत्कालिन समयका बार्सिलोनाका निर्देशक जसले मेसीसँग सम्झौता गरेका थिए । मेसीको प्रदर्शनबाट प्रभावित भएका रेक्साचले त्यसबेला कागजको अभावका कारण टिस्यु पेपरमा मेसीसँग पहिलो सम्झौता गरेका थिए ।

४. मेसीले सन् २००३ मा इस्पान्योलविरुद्धको खेलबाट बार्सिलोनाका लागि डेब्यु गरेका थिए । मेसी त्यसबेला १७ वर्षका थिए र उनी बार्सिलोनाबाट डेब्यु गर्ने तेस्रो सबैभन्दा कम उमेरको खेलाडी बनेका थिए । यसबाहेक, मेसी बार्सिलोनाबाट सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि बनेका थिए ।

५. मेसीसँग दुई देशको पासपोर्ट छ । अर्जेन्टिनाका मेसीसँग आफ्नो कर्मथलो स्पेनको पनि पासपोर्ट छ । उनले सन् २००६ मा स्पेनको नागरिकता लिएका थिए ।

६. मेसीले सन् २००८ मा रोनाल्डिन्होबाट बार्सिलोनाको चर्चित १० नम्बर जर्सी पाएका थिए ।

७. मेसीले सन् २००९ मा पहिलो पटक फिफा बेस्ट प्लेयरको अवार्ड पाएका थिए । त्यसपछि सन् २०१२ सम्म लगातार बेस्ट प्लेयर घोषित भएका मेसी फुटबल इतिहासमा लगातार चार पटक यो अवार्ड पाउने पहिलो र हालसम्मका एकमात्र खेलाडी हुन् ।

८. मेसीलाई रोयल स्पेनिस फुटबल फेडेरेशनले स्पेनको राष्ट्रिय टिमबाट खेल्नका लागि प्रस्ताव गरेको थियो । तर, उनले यो प्रस्ताव अस्वीकार गर्दै अर्जेन्टिनाबाट खेल्ने निर्णय गरेका थिए ।

९. मेसीले बालबालिकाको शिक्षा र स्वास्थ्यकालागि ‘लियो मेसी फाउन्डेसन’ नामक सामाजिक संस्था खोलेका छन् ।

१०. बार्सिलोनालाई नै आफ्नो पहिचानसहितको घर बनाएका मेसी गत सिजन ‘फ्रि ट्रान्सफर’ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) अनुबन्धित भएका थिए ।