एन्फा

विवादको घेरामा नवनिर्वाचित एन्फा नेतृत्व, साफमा जोशीको उम्मेदवारी नहुने !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचित कार्यसमितिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । आफ्नै निर्णयका कारण एन्फा विवादको घेराभित्र फस्न थालेको हो ।

सोमबार साधारणसभाबाट निर्वाचित भएपछि बुधबार बसेको कार्यसमितिको पहिलो बैठकले गरेअनुसार दक्षिण एसियाली फुटबल महासंघ (साफ)को चुनावमा नेपालका तर्फबाट एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीलाई पठाउन गरेको निर्णय कार्यान्वयन नहुने भएको छ ।

साफको विधानअनुसार कंग्रेसभन्दा दुई महिनाअगावै उम्मेदवारी दिइसक्नुपर्ने हुन्छ । उम्मेदवारी फिर्ता लिन जुनसुकै समयमा पनि पाइने व्यवस्था भए पनि उम्मेदवारी दर्ता गराउनका लागि भने दुई महिनाको समयसिमा तोकिएको छ । आगामी जुलाई दुईमा बंगलादेशको ढाकामा हुने साफ कंग्रेसका लागि वैधानिक व्यवस्थाअनुसार समयसिमा घर्किइसकेकाले जोशीको उम्मेदवारी कायम हुने सम्भावना छैन ।

सोमबार भएको साधारणसभाले कर्माछिरिङ शेर्पालाई स्थानान्तरण गर्दै पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचनमा नेम्वाङ प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका जोशी पराजित भएका थिए । चार उपाध्यक्ष पदमा नेम्वाङ प्यानलबाट दावा लामा, विराटजंग शाही र दीपक खतिवडा तथा शेर्पा प्यानलबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भएका थिए ।

आफ्नो प्यानलबाट उम्मेदवारी दिएर पराजित भएपछि जोशीलाई क्षतिपूर्तिस्वरुप साफको उपाध्यक्षमा पठाउने प्रयास गरिएको नेतृत्वमाथि आरोप छ । शेर्पा नेतृत्वको अघिल्लो कार्यसमितिले दुई महिनाअघि नै शेर्पाको नाममा उपाध्यक्षको उम्मेदवारी दर्ता गराएको थियो ।

साफको कंग्रेसले एक अध्यक्ष, दुई उपाध्यक्ष, साफलाई प्रतिनिधित्व गर्ने एक एएफसी कार्यसमिति सदस्य, दुई कार्यसमिति सदस्य र एक महिला कार्यसमिति सदस्य गरि सात सदस्यीय कार्यसमितिको चयन गर्नेछ ।

नेम्वाङ नेतृत्वको कार्यसमितिले बुधबारको पहिलो बैठकबाट महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा नवीन पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रक्रिया पूरा नगरिएको बैठकबाट महत्वपूर्ण नियुक्तिहरु गरिएको तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा विधानविपरित विदेशी नागरिकलाई नियुक्त गरिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । हाल जर्मनीमा बसोबास गर्ने काठमाडौं धुम्बराहीका पाँडेले जर्मन नागरिकता लिइसकेका छन्

नवनियुक्त अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूख पाँडेले साफमा नेपाललाई प्रतिनिधित्व गर्दै जोशी जाने कुरामा शंका नगर्न अनुरोध गरे । शेर्पाको नाममा यसअघि दर्ता गराइएको उपाध्यक्षको उम्मेदवारी फिर्ताका लागि साफमा अनुरोध गरिसकेको बताउँदै उनले खेलाडीसँग भने, ‘हामीले पुरानो उम्मेदवारी फिर्ता गर्नका लागि अनुरोध गरेका छौं । पहिला त्यो फिर्ता हुनुपर्छ । त्यसपछि रिक्त रहेको ठाउँमा हामीले अर्को प्रतिनिधि पठाउने हो । कसलाई पठाउने भन्ने संघको अधिकारको विषय हो । त्यसैले एन्फाको निर्णयमा शंका नगर्नुस ।’

पाँडेका अनुसार शेर्पाको उम्मेदवारी फिर्ता भएपछि रिक्त हुने ठाउँका लागि साफले एन्फालाई नाम पठाउन आह्वान गर्छ । त्यसपछि जोशीको नाम पठाइन्छ र उनी साफको अर्को कंग्रेसबाट उपाध्यक्ष चुनिन्छन् ।

साफको विधानअनुसार कुनै पनि सदस्य देशले एउटा पदमा एक जनाभन्दा बढिको उम्मेदवारी दर्ता गराउन पाउँदैन । त्यसो गरेमा स्वत सबै उम्मेदवारी खारेज हुन्छ । यसैगरी सात सदस्यीय साफ कार्यसमितिमा सबै देशको प्रतिनिधित्व ग्यारेन्टी गर्नका लागि विधानमै एक देशबाट एक जनामात्र हुन पाउने व्यवस्था गरिएको छ ।

साफको सदस्यमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्सगरि सात देश छन् ।