बाढीले छेक्न नसकेको लालबोझीको फुटबल

धनगढी, (खेलाडी)- कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ अधिकांश समय बाढीको चपेटामा परिरहन्छ । साविकको लालवोझी गाविस र अहिलेको वडा नम्बर ५ ले बाढीको वितण्डा नबेहोरेको कुनै वर्ष नै हुँदैन । 

प्रत्येक वर्षायाममा पूरा गाउँ डुबेको हुन्छ । करोडौंको क्षति भइरहन्छ । त्यसैले वर्षायाम नजिकिँदै गर्दा बाली लगाउने चटारो होइन, बरु बाढीको वितण्डाबाट कसरी बच्ने भन्ने चिन्तामा पिरोलिनुपर्ने स्थानीय वासिन्दाको वर्षौदेखिको नियति फेरिन सकेको छैन् । भनौं, लालबोझी गाउँको दुःख भनेकै बाढी हो । वर्षातमा हुने गरेको बितण्डाको त्रासका कारण हिउँदमा पनि स्थानीय चैनका साथ बस्न सक्दैनन् ।

बाढीको त्रासका बीच यो गाउँले खुसी मनाउने पनि केही कुरा छन् । पछिल्लो समय स्थानीयवासीको मुहारमा मुस्कान ल्याउने काम फुटबलले गरिरहेको छ । 

खेलमार्फत मानिसको मुहारमा मुस्कान ल्याउने अभियान बडो उत्साहका साथ भइरहेको छ । र यसको नेतृत्व गरिरहेका छन्, हिमालयन युवा क्लब र त्यसका अध्यक्ष सुरेश हमालले ।

भनिन्छ, खेलकुद भनेको उर्जाको माध्यम हो । मानिसलाई खुसी प्रदान गर्ने चिज हो । समाजमा सकारात्मक सोचको विकास गर्दै मानिसलाई रचनात्मक कामका लागि यसले प्रेरित गर्छ । 

हो, फुटबलले अहिले बाढीको त्रासको छायाँमा सधै निराश रहने लालबोझीमा त्यस्तै गरिरहेको छ । खेलमार्फत मानिसको मुहारमा मुस्कान ल्याउने अभियान बडो उत्साहका साथ भइरहेको छ । र यसको नेतृत्व गरिरहेका छन्, हिमालयन युवा क्लब र त्यसका अध्यक्ष सुरेश हमालले ।

१८ वर्षअघि स्थापना भएर फुटबल गतिविधिमा सहभागि हुनुका साथै आफै पनि सञ्चालन गर्दै आएको क्लब अहिले काठमाडौंमा ‘सी’ डिभिजन लिगको छनोटमार्फत नेपाली लिग फुटबलको औपचारिक संरचनामा आफ्नो ठाउँ खोजिरहेको छ । 

हिउँद वर्षा नभनी निरन्तर स्थानीय खेलाडीलाई नियमित प्रशिक्षणमार्फत फुटबलमा सम्भावना देखाइरहेको क्लबले स्थानीय खेलाडीलाई प्रतिभा प्रस्फुटनको अवसर पनि पर्याप्त मात्रामा दिइरहेको छ । यही क्रममा कैलालीको एक्लो क्लबको रुपमा टोली ‘सी’ डिभिजन छनोटमा सहभागि हुँदैछ । 

भाषण र नारामा विकेन्द्रिकरणको कुरा चर्को रुपमा उठाए पनि पूर्ण रुपमा केन्द्रिकित नेपाली फुटबलमा एउटा मोफसलको टोलीका लागि लिग संरचनामा आउनु ठूलो चुनौती हो । हिमालयन युथ क्लबका अध्यक्ष हमालले पनि यो नबुझेका होइनन् । तर त्यो चुनौतीलाई एकताको बलले जित्ने लक्ष्यसहित क्लबले यो आँट गरेको हो ।

‘सी’ डिभिजन छनोटमा सफलता हासिल गर्ने लक्ष्यसहित अचेल बाढी र वर्षाको बीचमा पनि क्लबको प्रशिक्षणले निरन्तरता पाइरहेको छ । खेलाडी तथा प्रशिक्षक सत प्रतिसत मेहनतका साथ अभ्यासमा जुटिरहेका भेटिन्छन् । 

डुंगा चढेर प्रशिक्षणमा 

लालबोझी गाउँमै हुलाकी सडकलाई बाढीले बगाएको छ । कान्द्रा नदीले लगातार दक्षिणतिर धार परिवर्तन गर्दै सडकलाई कटान गरेर सडक मात्रै बगाएको छैन । केही स्थानीयको उठिवास पनि भएको छ । असार साउन र भदौ आधासम्म पनि कैलालीमा लगातार पानी परिरहेका कारण नदीमा पानीको वहाव बढ्दै गइरहेको छ । 

‘सी’ डिभिजन छनोट खेल्ने मनसाय बनाएदेखि नै हिमालयन युवा क्लबले खेलाडीहरुलाई गाउँमै राखेर प्रशिक्षण गराउँदै आएको छ । तर क्लबको अभियानलाई त्यो बाढीले रोक्न सकिरहेको छैन ।

कर्मदेवमा कान्द्रा नदीले हुलाकी सडक काटेको उत्तरतिरको मैदानमा क्लबको प्रशिक्षण जारी छ । जहाँसम्म पुग्नका लागि खेलाडी तथा प्रशिक्षकले दैनिक डुंगाको भर पर्नुपर्छ ।

क्लबका अध्यक्ष हमालले आफ्नै घरमा खेलाडीहरुलाई खाने बस्ने व्यवस्था मिलाएका छन् । उनको यो काममा क्लबका अन्य पदाधिकारीहरु तथा स्थानीय वासिन्दाको पनि सहयोग छ । 

कर्मदेवमा कान्द्रा नदीले हुलाकी सडक काटेको उत्तरतिरको मैदानमा क्लबको प्रशिक्षण जारी छ । जहाँसम्म पुग्नका लागि खेलाडी तथा प्रशिक्षकले दैनिक डुंगाको भर पर्नुपर्छ । तर पछिल्लो दुई महिनादेखि डुंगाबाट खोला तरेर भए पनि टिमले प्रशिक्षण गरिरहेको छ । अबको दुई हप्तासम्म पनि उनीहरुको दैनिकी फेरिने छैन् । भदौ ३० गते बाट ‘सी’ डिभिजन छनोटको यात्रा थाल्ने भएकोले त्यसभन्दा केही दिन अगाडिसम्म टोलीले यसैगरी तयारी गर्नेछ । 

उत्साहित छन् खेलाडी

पछिल्लो दुई वर्षदेखि कोभिड १९ महामारीका कारण खेलकुदका गतिविधिहरु ठप्प भए । जस कारण धेरै खेलाडीहरुले आफ्नो प्रतिभालाई देखाउन पाएनन् । 

स्थानीयस्तरमा हुने प्रतियोगिता आयोजना बर्जित भयो । प्रतियोगिता नै नभएपछि खेलेवापत पाउने पारिश्रमिकबाट खेलाडीहरु बञ्चित भए । भेटघाट र मानिसबीचको जमघट नै गर्न नहुने भएपछि फुटबलजस्तो सामूहिक खेलमा सहभागितामात्र नभई अभ्यास गर्न पनि सम्भव भएन । 

तर अहिले स्थिती सहज बन्दै गएको छ । खोपको उपलब्धतापछि कोभिडको त्रास तुलनात्मक रुपमा कम भएको छ । जसले पुरानो सामाजिक जीवनलाई विस्तारै फर्काउने प्रयास गरिरहँदा फुटबल पनि मैदानमा फर्किदैछ ।

त्यसैको फल हो, हिमालयन युवा क्लब ‘सी’ डिभिजन छनोटमा जुट्न सकेको । लिग खेलको पहिलो खुट्किलोमा पाइला राख्ने भएपछि हिमालयन युवा क्लबका खेलाडीहरु अहिले उत्साहित छन् । 

राम्रो प्रदर्शन गरेर सम्पूर्ण कैलालीवासीको शीर उचो बनाउने क्लबका कप्तान रामसिंह चौधरी बताउँछन् । भन्छन्, ‘हामीले पूरा देशलाई आफ्नो क्षमता देखाउने राम्रो मौका पाएका छौं । हामी कैलालीको नाम राखेर फर्किनेछौं,’ चौधरीले भने । 

च्यासल युथ क्लबका पूर्व मिडफिल्डर माधव भण्डारी अहिले हिमालयन युथ क्लबको प्रशिक्षकको भूमिकामा छन् । सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण सुदूरपश्चिम ११ ले जित्दा टोलीका महत्वपूर्ण खेलाडी रहेका युवा प्रशिक्षक भण्डारीको नेतृत्वमा हिमालयन युथले प्रतिबद्ध तयारी गरिरहेको छ । 

‘हामीले छनोट प्रतियोगिताका लागि लामो समयदेखि निरन्तर अभ्यास गरिरहेका छौं । सबै खेलाडी युवा छन् । उनीहरुले धेरै मेहनत गरिरहेका छन् । युवा भएकाले उनीहरुमा कुनै दबाब हुने छैन । हामी ‘सी’ डिभिजनमा छनोट भएर फर्किनेमा विश्वस्त छौं,’ प्रशिक्षक भण्डारी भन्छन्, ‘एकदुई जना अनुभवी खेलाडी पनि छन् । उनीहरुले युवालाई मैदानभित्र संगठित गरेर राम्रो प्रदर्शनका लागि प्रेरित गर्नेछन् ।’

तयारी खर्च धान्न धौ धौ

विकेन्द्रिकरण नेपाली फुटबलमा सधै एउटा लोकप्रिय नारा बन्दै आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वले तीन वर्षअघि चुनावमा होमिदा यही नारालाई चर्को रुपमा घन्काएको थियो । 

विकेन्द्रिकरण नेपाली फुटबलमा कागजमै सिमित भएको छ । खासमा मोफसलका क्लबलाई केन्द्रिकृत फुटबलमा अगाडि बड्न फलामको च्युरा चपाउनु सरह छ । 

तर अहिले कर्माछिरिङ शेर्पाको नेतृत्वमा यही नारा घन्काएर नेपाली फुटबलको सर्वोच्च निकायमा पुग्नेहरुले यसलाई विर्सिसकेका छन् । विकेन्द्रिकरण नेपाली फुटबलमा कागजमै सिमित भएको छ । खासमा मोफसलका क्लबलाई केन्द्रिकृत फुटबलमा अगाडि बड्न फलामको च्युरा चपाउनु सरह छ । 

हिमालयन युथ क्लबको नियति पनि अन्य मोफसलका क्लबको भन्दा फरक छैन । मनकारी नेतृत्व र त्यस्तै सहयोगीको योगदानका भरमा चल्नुको विकल्प छैन । 

क्लबले ‘सी’ डिभिजन छनोटका लागि विभिन्न ठाउँका २० खेलाडीलाई लालबोझी गाउँमा बन्द प्रशिक्षणमा राखेको छ । क्लबका अध्यक्ष मालको घर खेलाडी होस्टलमा परिणत भएको छ । 

यतिले छनोट प्रतियोगितामा सहभागिता पूरा हुँदैन । त्यसका लागि काठमाडौंको भ्रमण गर्नुपर्छ । काठमाडौंमा बसोबासको व्यवस्था गर्नुपर्छ । समग्रमा काठमाडौं केन्द्रित लिग संरचनाभित्र प्रवेश गर्नु मोफसलका क्लबका लागि निक्कै महंगो हुने गर्छ । अझ सुदूर पश्चिमको टोलीका लागि त्यो देशका अन्य भागका क्लबलाई भन्दा झन बढि चुनौतीपूर्ण छ । 

आर्थिक स्रोतको अभाव झेल्दै ‘सी’ डिभिजन छनोट खेल्ने तयारीमा जुटेको क्लबका अध्यक्ष सुरेश हमाल बताउँछन् । ‘सी’ डिभिजन छनोटमा सहभागिता जनाउने हिमालयन युव एन्फा सुदूर पश्चिम प्रदेशमा आबद्ध एक्लो क्लब हो । तर पनि कुनै क्षेत्रबाट नपाइएको अध्यक्ष हमाल दुखेसो गर्छन । 

‘हामी आफ्नै खर्चमा प्रतियोगिता खेल्न तम्सिएका छौं । क्लबका पदाधिकारी, स्थानीय वासिन्दा र खेलप्रेमीहरुको सहयोग छ । स्थानीय सबैले सक्दो सहयोग गर्नुभएको छ । म उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु,’ अध्यक्ष हमालले भने । 

तिनै सफलताबाट उत्साहित हिमालयन युथ क्लब विभिन्न उतारचढावका बीच ‘सी’ डिभिजन छनोटमा सहभागी हुदैछ । 

हमालका अनुसार क्लबका सदस्य शिशिर हमालले टीमलाई गतिमान मेडटेकबाट जर्सी सहयोग गरेका छन् । त्यसैगरी पिएफए स्पोर्टस क्लबका अध्यक्ष रहेका सन्तोष भट्टले आफ्नो पिएफए स्पोर्टस हाउसको तर्फबाट जर्सी सहयोग गरेका छन् । स्थानीय तह तथा वडा लगायतका कार्यालयबाट क्लबले सहयोग पाएको छैन । 

पछिल्लो समय सुदूरपश्चिममा फुटबलले गति लिन थालेको छ । सुदूरपश्चिमले आशा गरेजस्तै सफलता हासिल गर्न थालेको छ । 

धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा २०६८ सालमा सुदूरपश्चिमको पुरुष टिमले स्वर्ण पदक जितेको थियो । दुई वर्षअघि सुदूर पश्चिम ११ स्पोर्टस क्लबले खप्तड गोल्डकप जितेको सम्पूर्ण प्रदेशवासीको स्मरणमा ताजै छ । तिनै सफलताबाट उत्साहित हिमालयन युथ क्लब विभिन्न उतारचढावका बीच ‘सी’ डिभिजन छनोटमा सहभागी हुदैछ ।