स्पेनिस ला लिगा

जिरोना ला लिगामा बढुवा

मड्रिड । प्लेअफमा टेनेरिफेलाई ३–१ ले पराजित गर्दै जिरोना स्पेनिस ला लिगामा बढुवा भएको छ ।

टेनेरिफेको मैदानको खेलको ४१औं मिनेटमा क्रिस्थियन स्टुएनीले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमा कार्लोस रुइज एरेनागाले गोल गरेपछि टेनेरिफे खेलमा फर्किएको थियो ।

त्यसको नौ मिनेटपछि होजे लियोनबाट आत्मघाती गोल उपाहार पाएपछि पुनः जिरोनाले अग्रता लिएको थियो । यस्तै, खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा अर्नाउ मार्टिनेजले गोल गरेपछि जिरोनाले ३–१ को जितसहित ला लिगामा आफ्नो स्थान पक्का गर्यो ।

जिरोना सन् २०१८–१९ को सिजन ला लिगाबाट घटुवा भएसँगै दोस्रो डिभिजनमा लगातार पाँचौ स्थानमा रहेको जिरोना पछिल्लो सिजन पनि प्लेअफको फाइनलमा इल्चेसँग पराजित भएपछि शीर्ष डिभिजनमा उक्लिन सकेको थिएन ।