कुमार कटुवाल

फुटबल विकासका लागि मेरो उम्मेदवारीः कुमार कटुवाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका कुमार कटुवालले फुटबल विकासका लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।

असार ६ गते हुने निर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कटुवालले शनिबार पत्रकारसम्मेलनमार्फत पछिल्लो समय नेपाली फुटबल खस्किँदै गएको र यसलाई उकास्न आफूले उम्मेदवारी दिएको बताएका हुन् ।

कटुवालले २०४५ सालदेखि २०७७ सालसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्रशिक्षकको रुपमा काम गरेका थिए  ।

कटुवालले ब्वाइज युनियन, थ्री स्टार, नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालेका थिए ।

‘नेपाली फुटबल पछिल्लो समय खस्किदै गएको छ । यसलाई उकास्न र खेलाडीहरुको हकहित, अधिकार सेवा सुविधा सुनिश्चित गर्न मैले उम्मेदवारी दिएको हु । म सदस्य भएमा मैले पाउने बैठक भत्ता र अन्य सुविधा केही लिने छैन,’ उनले भने ।

कटुवालले नेपाली राष्ट्रिय महिला टिमको प्रशिक्षण पनि सम्हालेका थिए ।