एन्फा निर्वाचन

एन्फा केन्द्रिय सदस्यबाट कृष्ण गुरुङको उम्मेदवारी फिर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

हाम्रो फुटबल नेपालमार्फत फुटबलमा लागेका गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

‘हामीले सोचेकोभन्दा फरक फुटबल भित्रको गतिविधि रहेछ । त्यहाँ हुने कार्यक्रमहरु आफ्नो पहुचभन्दा बाहिरको विषय ठाने । लडाइमा जाने तर हतिहार पनि आफूसँग नभएपछि त्यसको कुनै तुक नदेखेर उम्मेदवारी फिर्ता लिने निर्णय गरे । सिन्धुली जिल्ला फुटबल संघको विवाद भएपछि म पनि मिलाउन लागे,’ गुरुङले भने, ‘साथीहरुले एकपक्षिय रुपमा कमिटि बनाए पनि एन्फाले त्यसलाई मान्यता दिएन । सिन्धुली जिल्ला फुटबलको लागि मैले नाम फिर्ता लिने निर्णय गरेको हो । उम्मेदवारी फिर्ता लिने समय सकिएकाले मेरो नाम भने एन्फामा रहिरहनेछ । तर, मैले नाम फिर्ता रहेकाले मेरो प्रतिस्पर्धा हुनेछैन । मैले जित्ने सम्भावना पनि छैन र जिते पनि जान्न ।’

एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तालिका छ ।