नेपाली फुटबल

सट्टेबाजी समाचारप्रति एन्फाको स्पष्टोक्ती

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेको फुटबल खेलमा सट्टेबाजीसम्बन्धी सम्झौता गरेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

एन्फाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार आधारहीन आरोपमात्रै भएको भन्दै त्यसको खण्डन गरेको छ ।

‘हामी त्यस्ता आधारहीन आरोपहरूको दृढतापूर्वक खण्डन गर्दछौं र पुष्टि गर्दछौं कि एन्फा कुनै पनि तरिकाले बेटिङमा संलग्न छैन र कुनै कम्पनी वा संस्थासँग सट्टेबाजी सम्बन्धी कुनै सम्झौतामा हस्ताक्षर गरेको छैन,’ एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एन्फाले बेटिङ कम्पनी भनिएको इम्पावर स्पोर्टस एजीसँग एएफसी ‘लिग डेभलपमेन्ट प्रोग्राम’ र एएफसी अध्यक्षको पहलमा लाइभ बोर्डकास्टिङका लागि सम्झौता गरिएको जनाएको छ ।

एन्फाले इम्पावर स्पोर्टससँग एन्फाले आयोजना गर्ने ‘ए’, ‘बी’, ‘सी’, महिला लिग र छनोटका खेलहरुको डिजिटल अधिकारको लागि आर्थिक सम्झौता गरेको बताएको छ । एन्फाले विज्ञप्तिमा यस्तो सम्झौता एसियाका धेरै संघहरुले गरेको उल्लेख गरेको छ ।

एन्फाले इम्पावर स्पोर्टससँग सन् २०१८ मा सम्झौता गरेको थियो जुन यसै वर्षको डिसेम्बरमा सकिँदै छ । यसैअनुरुप इलेभेन स्पोर्टसले २०२२ को अन्त्यसम्म खेलहरु लाइभ गर्ने जनाएको छ ।

एन्फाले फुटबल विकासमा प्रतिबद्ध रहेको र हरेक नियमको पालना गरेको बताएको छ । यस्तै, एन्फाले कुनै पनि प्रकारको टिप्पणी वा आरोप लगाउनुअघि त्यसबारे उचित तथ्य केलाउन पनि आग्रह गर्दै यसबारे थप टिप्पणी नगर्ने जनाएको छ ।

यसअघि विभिन्न सञ्चारमाध्यमहरुमा एन्फा ‘ए’, ‘बी’, ‘सी’, महिला लिग र छनोटका खेलहरु सट्टाका लागि स्विट्जरल्यान्डको कम्पनी इम्पावर स्पोर्टससँग सम्झौता गरेको समाचार प्रकाशित र प्रशारित भएका थिए ।