एन्फा चुनाव

एन्फा निर्वाचन उम्मेदवार परिचय: उमेर समूह र राष्ट्रिय टिमबीचको खाल्डो पुर्ने श्रेष्ठको योजना

काठमाडौं । नेपाली फुटबल विशेष गरी काठमाडौं र केही मुख्य सहरहरूमा केन्द्रित छ । तर, यसको मतलब काठमाडौं र यी केही मुख्य सहरबाहिर फुटबल नै छैन भन्ने होइन । फुटबलको राजनीति र चर्चा काठमाडौंमा भए पनि वास्तविक माहोल त बाहिर छ । दूरदराजमै छ ।

काठमाडौंमा फुटबलको पुरानो इतिहास छ । पोखरामा पनि उस्तै । यसको प्रभाव आसपासमा नपर्ने कुरै भएन । काठमाडौंबाट जाँदा करिब ३ घण्टा र पोखराबाट आउँदा करिब २ घण्टाको यात्रामा पुगिने तनहुँको आँवुखैरेनीमा उतिबेलादेखि नै फुटबलका गतिविधि भइरहन्थे, जतिबेला रत्नकुमार श्रेष्ठ स्कुल पढ्थे ।

‘ठूलो राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको खेलाडी त भइनँ,’ श्रेष्ठ सुनाउँछन्, ‘तर, फुटबल मैले सानैदेखि खेलें । खेल्न छाडेपछि पनि टाढा हुन सकिनँ । फुटबलको प्यासनले अझै फुटबलतिरै तानिरहेकै छ ।’

जिल्लामा भइरहने फुटबलका गतिविधिले श्रेष्ठलाई पनि उतै तान्यो । स्कुल स्तरदेखि नै फुटबल खेल्न थाले । अघि भनेझैं माहोल बाहिर भए पनि फुटबलको केन्द्र त काठमाडौं नै थियो । त्यसैले उनी राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका खेलाडी बनेनन् । बन्न सकेनन् । तर, उमेर रहुन्जेल स्थानीय वा जिल्ला स्तरका प्रतियोगिता उनले बिरलै छुटाए ।

‘ठूलो राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको खेलाडी त भइनँ,’ श्रेष्ठ सुनाउँछन्, ‘तर, फुटबल मैले सानैदेखि खेलें । खेल्न छाडेपछि पनि टाढा हुन सकिनँ । फुटबलको प्यासनले अझै फुटबलतिरै तानिरहेकै छ ।’

एक सामान्य खेलाडीको रूपमा फुटबलमा आवद्ध भएका श्रेष्ठ खेल करिअर टुंग्याएर ०५५–५६ सालतिर व्यवस्थापन/प्रशासनतिर लागे । आफू जन्मेहुर्केको तनहुँमा त्यतिबेलासम्म जिल्ला फुटबल संघ गठन नै भएको थिएन । आफैं क्लब स्थापना गरेर स्थानीय स्तरमा चलिरहेका श्रेष्ठले आफ्नै अध्यक्षतामा तनहुँ जिल्ला फुटबल संघ स्थापना गरे ।

‘आफ्नै जिल्लाको संस्थापक अध्यक्ष भएर मैले फुटबल पोलिटिक्समा करियर सुरु गरें,’ श्रेष्ठ भन्छन्, ‘सानो छँदा खेलाडी बन्छु भन्ने थियो । यो सबै सोचेको थिइनँ । तर फुटबलप्रतिको प्यासनले मलाई यहाँसम्म ल्याइपुर्यायो ।’

उनलाई थाहा छ, नेपालमा फुटबलबाहेक अन्य खेल पनि छन् । तर उनी भन्छन्, ‘फुटबलजस्तो मेरा लागि अरू खेल भएनन् । म पनि अरू खेलका लागि भइनँ ।’

‘काठमाडौंमा फुटबलमा हुँदा, सहिद स्मारक ए डिभिजन लिग हुँदा हेर्न जान्थ्यौं । म काठमाडौंमै बसेर कलेज पढ्दा पनि म नियमिति लिग हेर्न जान्थें,’ श्रेष्ठ सझन्छन्, ‘र, त्यस बेलादेखि नै मैले फुटबलको महत्व बुझिसकेको थिएँ । राजधानी र पोखराको प्रभावले होला हाम्रो ठाउँमा प्रतियोगिताहरू भइरहे । त्यसले पनि मेरो फुटबलप्रतिको लगाव झन बढ्दै गयो ।’

जिल्ला स्तरमा आफ्नो खम्बा गाडिसकेका श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा)मा पूर्वअध्यक्ष गणेश थापाकै पालामा पाइला राखेका थिए । जिल्लामा बटुलेको अनुभव लिएर एन्फाको केन्द्रीय कार्यसमितिमा पुगेका श्रेष्ठले तीन कार्यकाल पूरा गरिसकेका छन्, सदस्यका रूपमा । तनहुँ जिल्ला अध्यक्षका रूपमा दुई दशकभन्दा धेरै काम गरिसकेका श्रेष्ठले केन्द्रीय कार्यसमितिमा पाइला राखेको पनि एक दशकभन्दा धेरै भइसक्यो ।

‘काठमाडौंमा फुटबलमा हुँदा, सहिद स्मारक ए डिभिजन लिग हुँदा हेर्न जान्थ्यौं । म काठमाडौंमै बसेर कलेज पढ्दा पनि म नियमिति लिग हेर्न जान्थें,’ श्रेष्ठ सझन्छन्, ‘र, त्यस बेलादेखि नै मैले फुटबलको महत्व बुझिसकेको थिएँ । राजधानी र पोखराको प्रभावले होला हाम्रो ठाउँमा प्रतियोगिताहरू भइरहे । त्यसले पनि मेरो फुटबलप्रतिको लगाव झन बढ्दै गयो ।’

एक खेलाडी, क्लब पदाधिकारी, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका श्रेष्ठलाई अब ‘म फुटबलको नेतृत्व गर्न सक्छु’ भन्ने भान भएको छ । त्यसैले उनले एन्फाको असार ६ गते हुने निर्वाचनमा कर्माछिरिङ शेर्पाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

‘तीन कार्यकाल र नरेन्द्र दाइको एक वर्षे कायकाल जोड्ने हो भने चार कार्यकाल फुटबलको केन्द्रीय कार्यसमिति पूरा भइसकेको छ,’ उनी भन्छन्, ‘चार कार्यकाल पूरा गरिसकेको हुनाले सबै साथीले उपाध्यक्षमा उठ्न सल्लाह दिनुभयो । र, आफूलाई पनि यतिका वर्षको फुटबल अनुभवले म उपाध्यक्ष हुन योग्य छु भन्ने लागेको भएर उम्मेदवारी दिएको हुँ । मैले करिब दुई दशक लगाएर आफूलाई यसका लागि तयार गरेको हुँ ।’

एक सदस्यको तुलनामा केन्द्रमा उपाध्यक्ष भएसँगै आशा र जिम्मेवारी थपिनेबारे श्रेष्ठ अज्ञात छैनन् । जिल्लामा दशक नेतृत्व गरेको अनुभव उनीसँग छ । त्यसमाथि पनि अघिल्ला कार्यसमितिमा रहँदा एन्फाको प्रशासनिक क्षेत्रमा काम गरेको भरपूर अनुभव उनीसँग छ ।

‘अझै धेरै समय मैले फुटबललाई दिनुपर्ने हुन्छ र म दिन्छु पनि । फुटबल मेरो प्यासन भएकाले अझै समय दिएर अगाडि बढ्ने इच्छा छ,’ श्रेष्ठ भन्छन् ।

‘केन्द्रीय सदस्य भएर काम गर्दा पनि व्यवस्थापकीय पार्टमा बसेर धेरै काम गरेको छु,’ उनी भन्छन्, ‘मेरो पहलमा धेरै निर्णय पनि भएका छन् । मेरो योगदान त्यसमा पनि छ भन्ने मलाई लागेको छ । उपाध्यक्ष हुँदै गर्दा अझै जिम्मेवारी थपिने छन् । म गण्डकी प्रदेशको पनि प्रतिनिधित्व गर्ने भएकाले आठवटै जिल्लालाई समेट्नुपर्ने दायित्व मेरो हुनेछ ।’

उपाध्यक्ष हुँदै गर्दा त्यति मात्रै नभएर देशभरका फुटबलका मुद्दालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी आफूमाथि थपिने उनलाई थाहा छ ।

‘अझै धेरै समय मैले फुटबललाई दिनुपर्ने हुन्छ र म दिन्छु पनि । फुटबल मेरो प्यासन भएकाले अझै समय दिएर अगाडि बढ्ने इच्छा छ,’ श्रेष्ठ भन्छन् ।

एन्फाको विधानअनुसार गण्डकी प्रदेशका आठमध्ये ६ जिल्लाले मताधिकार पाउँछन् । प्रदेशमा भएको निर्वाचनबाट गोरखा र कास्की बाहिरिइसकेका छन् । यो विषय श्रेष्ठको मनमा खड्किरहन्छ । आगामी कार्यकालमा निर्वाचित भए यो विषयलाई प्राथमिकतामा राखेर कुरा उठाउने उनी बताउँछन् ।

‘केन्द्रको नीति नै आठमध्ये ६ जिल्लाले मात्रै भोट हाल्न पाउने छ,’ उनी भन्छन्, ‘म उपाध्यक्षमा निर्वाचित भएर जाँदै गर्दा मैले उठाउने पहिलो विषय भनेको आठमा आठवटै जिल्लाले मताधिकार पाउनुपर्छ भन्ने हुन्छ, यो विषय मेरो पहिलो प्राथमिकतामा पर्छ । हिजो पनि मैले यो विषयमा कुरा उठाएको हो ।’

नेपाली फुटबलले धेरै काम गर्न बाँकी रहेको र गत कार्यकालमा कोभिड–१९ महामारीका कारण अपेक्षाअनुसार अगाडि बढ्न नसकेको उनी बताउँछन् ।

‘हिजो कर्माछिरिङ शेर्पाजी अध्यक्ष हुँदै गर्दा चेन्ज एन्फा भनेर क्लिन स्विप गरेर हामी आयौं,’ उनले भने, ‘यो कार्यकालमा विशेष गरी कोभिड–१९ को कारणले धेरै कुरा गर्न बाँकी रहे । फुटबलमा नेपालमा भएको प्रगति हेर्ने हो भने सन्तोषजनक छ । तर यो भन्दा धेरै काम गर्न बाँकी छ ।’

पछिल्लो समय उमेर समूहमा खेलाडी नभएको र राष्ट्रिय टिम र उमेर समूहको बीचमा देखिएको खाल्डो पुर्ने उनको अठोट छ ।

‘अहिले युवा खेलाडीमा खाल्डो देखिएको छ । यु-१२ देखि १४, १६, १९, २०, २३ को ग्याप देखिएको छ । हामी यदि टिम नै जितेर आयौं भने यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौं,’ उनी भन्छन्, ‘अहिले स्थानीय निकाय भएकाले त्यो काम गर्न सजिलो पनि छ । स्थानीय निकायहरूमा गएर त्यहाँ उपलब्ध भौतिक पूर्वाधारको प्रयोग गरेर फुटबल गतिविधि बढाउन सक्छौं । र, त्यसै अनुसारका योजना हामीले बनाएका छौं ।’

अन्त्यमा, शेर्पा प्यानल रोज्नुको कारण उनले यसरी खुलाए, ‘कर्माले पछिल्लो चारवर्षे कार्यकालमा जसरी काम गर्नुभएको छ, जुन खटाइ उहाँको देखिएको छ । नेपाली फुटबलप्रति उहाँले जसरी पोजिटिभ काम गर्नुभएको छ, त्यही कारणले गर्दा मैले कर्माछिरिङ प्यानल रोजेको हुँ ।’

जसको उदाहरण उनले विश्व महामारीले आक्रान्त भइरहेका बेला नेपालमा चलेको फुटबल (नेपाल सुपर लिग)को दिए ।