रियाल मड्रिड

मड्रिडमा मैले आफ्नो उपस्थितीलाई प्रमाणित गरिसकेको छु: मिलिटाओ

मड्रिड । एडर मिलिटाओले पछिल्लो सिजनको प्रदर्शनले आफू किन रियाल मड्रिडको इतिहासको सबैभन्दा महँगो डिफेन्डर बनेको भन्ने प्रमाणित गरेको बताएका छन् ।

ब्राजिलियन डिफेन्डर मिलिटाओलाई मड्रिडले सन् २०१९ जुलाइमा पोर्टाेबाट ५० मिलियन युरोमा गरेको थियो ।

अनुबन्धित भएको पहिलो दुई सिजनमा स्वभाविक लयका लागि संघर्ष गरेका मिलिटाओले ला लिगाको दुई सिजन २३ खेलमा मात्र मड्रिडबाट पहिलो रोजाईमा उत्रिएका थिए ।

यद्यपि, सर्जियो रामोस र राफेल भरानले क्लब छोडेपछि तुलनात्मक रुपमा धेरै मौका पाएका २४ वर्षीय मिलिटाओले प्रशिक्षक कार्लाे एन्सेलोट्टीको नेतृत्वमा सबैखाले ५० खेल खेलेका छन् ।

यस सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा मिलिटाओ मड्रिडका प्रमुख रक्षकको रुपमा उदाएका थिए ।

‘रामोस र भरानले छोड्दा समर्थकहरु उनीहरुले क्लबमा इतिहास बनाएको कुरा गर्थे,’ मिलिटाओले भने, ‘उनीहरुले छोडेपछि मेरो लागि भने मलाई विश्वास गर्ने र समर्थकहरु सबैलाई आफ्नो क्षमता देखाउने समय आएको थियो । र, मैले यो सिजन रियाल मड्रिडमा म किन छु र के गर्न सक्छु भनेर प्रमाणित पनि गरेको छु ।’