विश्वकप छनोट

न्यूजिल्यान्डलाई हराउँदै कोस्टा रिका विश्वकपमा

दोहा । अन्तरमहादेशीय छनोटमा न्यूजिल्यान्डलाई हराउँदै कोस्टा रिकाले कतार विश्वकपको टिकट काटेको छ ।

मंगलबार कतारको राजधानी दोहामा सम्पन्न खेलमा कोन्काकाफ छनोटको चौथो स्थानमा रहेको कोस्टा रिकाले ओएफसी समूह चरणको विजेता न्यूजिल्यान्डलाई १–० ले पराजित गर्यो ।

खेलको तेस्रो मिनेटमा नै जोएल क्याम्पबेलले गरेको गोल नै कोस्टा रिकाको जितमा निर्णायक बन्यो । ६७औं मिनेटमा कोस्टा बार्बारोउसेसले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि न्यूजिल्यान्डले १० खेलाडीमा खेल टुङ्ग्याएको थियो ।

हालसम्म छैटौं पटक विश्वकपमा छनोट भएको कोस्टा रिकाले लगातार तेस्रो पटक विश्वकपको टिकट काटेको हो । जितसँगै विश्वकपको समूह ‘इ’ मा स्थान पक्का गरेको कोस्टा रिकाले स्पेन, जर्मनी र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

योसँग विश्वकपमा छनोट हुने ३२ वटै टिमको टुङ्गो लागेको छ ।