विश्वकपको महादेशीय प्लेअफ

विश्वकपको अन्तिम एक स्थानका लागि कोस्टा रिका र न्यूजिल्यान्ड भिड्दै

दोहा । विश्वकप छनोटको अन्तिम महादेशीय प्लेअफअन्तर्गत मंगलबार न्यूजिल्यान्ड र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा हुने खेलको विजेताले कतारमै हुने विश्वकपमा स्थान पक्का गर्नेछन् ।

कोस्टारिकालाई रियाल मड्रिडका पूर्व खेलाडी र पेरिस सेन्ट जर्मनका गोलकिपर केलर नाभास, फरवार्ड जोयल क्याम्पबेल र मिडफिल्डर चेलसो बोर्गेसको साथ छ ।

यता, न्यूजिल्यान्ड भने कोस्टा रिकालाई हराउँदै ‘अन्डरडग’ को रुपमा विश्वकपमा छनोट हुने दाउमा छ ।

सोलोमोन आइल्यान्डविरुद्ध पाँच गोल गर्दै कोस्टारिकासँगको भेट पक्का गरेको न्यूजिल्यान्ड दोहामा पनि त्यस्तै नतिजा निकाल्ने आशामा मैदान उत्रिनेछ ।

यी दुईबीचको विजेताले विश्वकपमा समूह ‘ई’ मा रहेको स्पेन, जर्मनी र जापानसँग खेल्नेछ ।

कोस्टारिका र न्यूजिल्यान्ड यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा एक पटकमात्र आमने–सामने भएका छन् । सन् २००७ मा भएको मैत्रीपूर्ण खेलमा उत्तर अमेरिकी टिमले ४–० ले हराएको थियो ।

कोस्टारिकाले पछिल्ला पाँच खेलमा चार जित निकालेको छ । न्यूजिल्यान्डले ओसेनिया विश्वकप छनोटमा उपाधि जितेपछि हालसम्म जित निकाल्न सकेको छैन ।

न्यूजिल्यान्डका पछिल्ला पाँच खेलहरुः

न्यूजिल्यान्डविरुद्ध ओमानः ०–०

पेरुविरुद्ध न्यूजिल्यान्डः १–०

सोलोमोन आइल्यान्डविरुद्ध न्यूजिल्यान्डः ०–५

न्यूजिल्यान्डविरुद्ध ताहितीः १–०

न्यूजिल्यान्डविरुद्ध न्यू क्यालेडोनियाः ७–१

कोस्टारिकाको पछिल्ला पाँच खेलहरुः

कोस्टारिकाविरुद्ध मार्टिनिकः २–०

पनामाविरुद्ध कोस्टारिकाः २–०

कोस्टारिकाविरुद्ध अस्ट्रेलियाः २–०

एल साल्भाडोरविरुद्ध कोस्टारिकाः १–२

कोस्टारिकाविरुद्ध क्यानडाः १–०