नेपाल सुपर लिग

एनएसएललाई भदौ २५ देखि कार्तिक पाँच गतेसम्मको समय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि भदौ अन्तिम सातादेखि कार्तिक पहिलो सातासम्मको समय उपलब्ध गराएको छ ।

एन्फाले सोमबार आयोजकलाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कार्तिक पाँच गतेसम्मको समय उपलब्ध गराएको जानकारी दिएको हो ।

साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराईमात्र प्रतियोगिताका खेलहरु सञ्चालन गर्न समेत आग्रह गरेको छ

यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि आठ गतेसम्म हुने तय भए पनि सहभागी क्लबहरुले तयारीका लागि समय नपुग्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो ।

यसपछि प्रतियोगिता आयोजनाका लागि आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले प्राली (एनएसइएम) ले एन्फासँग भदौ २५ देखि कार्तिक पाँच गतेसम्मको समय माग गरेको थियो ।

प्रतियोगिताको लागि आयोजकले गत फागुन २० गते खेलाडी अक्सनसमेत गरेको थियो । एनएसएलको दोस्रो संस्करणमा असन्तुष्ट जनाउँदै ‘ए’ डिभिजन लिगका क्लबहरु समेत विरोधमा उत्रिएका थिए ।