कतार विश्वकप २०२२

पेरुलाई हराउँदै अस्ट्रेलिया विश्वकपमा

दोहा । महादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिद्वन्दी पेरुलाई सडनडेथमा पराजित गर्दै अस्ट्रेलियाले कतार विश्वकपको टिकट काटेको छ ।

सोमबार कतारको राजधानी दोहामा सम्पन्न निर्धारित र अतिरिक्त दुबै समयमा गोलरहित बराबर भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

जसमा ६ खेलाडी पेनाल्टीका लागि उत्रिएका थिए । यसमध्ये अस्ट्रेलियाका पाँच खेलाडीले बललाई जाली चुमाउँदा पेरुका चार खेलाडीले मात्र बललाई पोस्टका दिशा दिन सके ।

सडनडेथमा अस्ट्रेलियाका गोलकिपर एन्ड्रिउ रेडमेनले अन्तिम पेनाल्टी जोगाउँदै कतार विश्वकपमा टिमको स्थान पक्का गरेका थिए ।

अस्ट्रेलियाका आरोन मोए, क्रेग गूडविन, अजदिन रुस्टिक, जेमी म्याकलरेन र अवेर माविलले गोल गर्दा मार्टिन बोएलेले पहिलो पेनाल्टी चुकाएका थिए ।

पेरुका जनलुका लापाडुला, एलेक्सजेन्डर क्यालेनस, रेनाटो टापिया र एडिसन फ्लोरेसले गोल गरे । यस्तै, लुइस एड्भिन्कुला र एलेकस भालेराले बललाई जाली चुमाउन सकेनन् ।