युइएफए नेसन्स लिग

फ्रान्स क्रोएसियासँग रोकियो

पेरिस । एन्डरेज क्रामारिचको पेनाल्टी गोलमा क्रोएसियाले सोमबार नेसन्स लिगमा फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ ।

लिग ए ग्रुप वानमा फ्रान्सले दुई खेलमा जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो ।

स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो ।

५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रन्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि क्रामारिचले पेनाल्टीको सदुपयोग गर्दै टोलीको लगतार दोस्रो हारको संकट टारेका थिए ।

लिग ए ग्रुप वानमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा डेनमार्कले अस्ट्रियालाई २-१ ले हरायो । 

दुई खेलमा डेनमार्कको ६ अंक छ भने दोस्रो स्थानको अस्ट्रियाको तीन अंक छ । तेस्रो स्थानको फ्रान्स र चौथो स्थानको क्रोएसियाको समान एक अंक छ ।