प्लानिङ ब्वाइज युनाइटेड

उत्साहित प्लानिङ ब्वाइजको लक्ष्य शीर्ष डिभिजन

काठमाडौं । भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ । मनोहरा खोलाको किनारमा रहेको प्लानिङ ब्वाइजको खोला भने निरन्तर बगिरहेको छ, १२ वर्षमा झन रफ्तार बढाउँदै ।

मनोहरा खोलाको बगरमा बसेको नयाँ सहर (पेप्सीकोला टाउन प्लानिङ)को यो क्लबले सहिद स्मारक लिग संरचनामा रहेर खेल्न थालेकै २०६६ सालदेखि हो । त्यसअघि छनोट खेलेको इतिहास त छँदैछ । आधिकारिक रुपमा २०६८ सालमा प्लानिङ ब्वाइज युनाइटेडको नाममा दर्ता हुनुअघिदेखि फुटबल खेल्न थालेको टोलीले अहिले आएर लिग संरचनामा एउटा महत्वपूर्ण खुट्किलो उक्लिएको छ ।

निरन्तर ‘सी’ डिभिजन लिग खेलिरहेको प्लानिङले १२ वर्षपछि दोस्रो डिभिजन लिगको यात्रा तय गर्यो । शुक्रबार सिजनको अन्तिम खेलमा त्यसअघि नै रेलिगेसनमा परिसकेको ओसिस क्लबलाई ५-० ले पराजित गरेसँगै प्लानिङले दोस्रो डिभिजनको टिकट पक्का गरेको थियो । अन्तिम खेलको जितपछि निकट प्रतिद्वन्द्वी आरसी ३२ फुटबल एकेडेमीलाई पछि पार्दै उपविजेताका रुपमा प्लानिङ बढुवा भएको थियो ।

दोस्रो डिभिजनको लिगमा उक्लिएपछि टोलीका मुख्य प्रशिक्षक सचिन्द्र धिमाल क्लबले लक्ष्यअनुरुपको नजिता निकाल्न सफल भएको बताउँदै थिए ।

राजधानीकै क्लब भए पनि काठमाडौंमा स्थान अभावका कारण प्लानिङ ब्वाइजले प्रशिक्षण शिविर भने प्रदेश एकको जिल्ला झापामा राखेको थियो । झापाको धुलाबारीमा लिगका लागि दुई महिना प्रशिक्षण गरेको प्लानिङले तयारीकै क्रममा दुई स्थानीय फुटबल प्रतियोगिता खेलेको थियो । दुवै प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको टोलीले भरोल गोल्डकपको भने उपाधि नै जितेको थियो ।

‘यो हाम्रो लक्ष्यअनुरुपको नतिजा हो । हामीले लिगका लागि भनेर लगभग दुई महिनाअघि देखि प्रशिक्षण सुरु गरेका थियौं । लिगकै लागि भनेर झापामा तयारी गरेका थियौं,’ प्रशिक्षक धिमालले भने, ‘तयारीकै क्रममा हामीले त्यहाँ भरोल गोल्डकप नामको प्रतियोगिता पनि खेलेका थियौं । र, उपाधि पनि जित्यौं । त्यो जितले पनि हाम्रो हौसला अझ बढायो । फलस्वरुप यो नजिता आयो ।’

प्लानिङ ब्वाइजका प्रशिक्षक सचिन्द्र धिमाल

प्लानिङले लिगका लागि टिममा रहेका सबै खेलाडी पहिलेदेखि नै सम्पर्कमा रोखेको थियो । क्लबका अध्यक्ष दावा लामाले एक वर्षअघिदेखि नै त्यसको तयारी गरिरहेका थिए । त्यसैकारण क्लबलाई लिगसम्म आइपुग्दा खेलाडीमा कुनै समस्या भएन ।

यस्तो भन्दै गर्दा प्लानिङको टिममा कमजोरी नभएको भन्ने होइन । तर, खेल्दै जाँदा अनुभवसँगै कमजोरीलाई सुधार्दै लगेको बताउँछन् प्रशिक्षक धिमाल ।

यसै सिजन प्लानिङको मुख्य प्रशिक्षणको जिम्मेवारी लिएका धिमालसँग एएफसी ‘बी’ लाइसेन्स छ । यद्यपि, उनले ‘ए’ को कोर्षसमेत पूरा गरिसेका छन् तर, लाइसेन्स भने आइसकेको छैन । लाइसेन्स नभए पनि कोर्ष पूरा गरिसकेका धिमालले कोर्समा सिकेका कुरा टिममा लागु गरे ।

‘यसै सिजनदेखि मैले प्लानिङको प्रशिक्षण सम्हालेको हुँ । मेरो ‘बी’ लाइसेन्स हो । मैले ‘ए’ को पनि कोर्ष गरेको छु । लाइसेन्स पेन्डिङमा छ । तर, पनि मैले कोर्ष गरिसेकाले त्यो ज्ञानलाई लिगमा लगाए,’ धिमालले भने, ‘मैले ‘बी’ लाइसेन्स २०१७ मा गरेको थिए । त्यसयता निरन्तर प्रशिक्षणमा छु । प्रशिक्षणको ‘सी’ कोर्ष पूरा गरेपछि मैले भारत सिलुगुडी, दार्जिलिङका धेरै क्लबहरुमा प्रशिक्षण गरे । प्लानिङ ब्वाइजमा आउनुपूर्व मैले झापाको प्रशिक्षण सम्हालेको थिए । जुन अहिले नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारी गरिरहेको छ ।’

लिगमा उपाधिको लक्ष्य पूरा नभए पनि दोस्रो डिभिजनमा उक्लिन सफल हुँदा सन्तुष्ट छन् धिमाल । तर, अन्तिम खेलको नतिजाले दोस्रो डिभिजनको यात्रा छिनोफानो गर्ने भएकाले अवस्था निक्कै चुनौतीपूर्ण बनेको उनले बताए । तालिकाको दोस्रो स्थानमा रहे पनि आरसी ३२ सँग अंक बराबरी रहेकाले ओसिससँग जितको नजिताले मात्र प्लानिङले ‘बी’ डिभिजन उक्लिने समिकरण बनेको थियो ।

प्रशिक्षक धिमाल भन्छन्, ‘अन्तिम खेलमा निकै चुनौती थियो । हारको नतिजाले हामीलाई लक्ष्यसम्म पुग्न दिँदैनथ्यो । तर, हामी अपराजित रहने लिगको एकमात्र टिम बन्यौं । मेरो रणनीति आफ्नो टिमलाई राम्रो बनाउने मात्र नभई विपक्षीको नीतिलाई बुझ्ने पनि थियो । सोही कारण मैले सबै टिमलाई फलो गरेको थिए । त्यही अनुसार मैले आफ्नो टिमलाई पनि तयार गर्न पाएँ । एउटा गेमपछि हामीलाई दुई दिनको समय हुन्थ्यो । त्यो अवधिमा म विपक्षीको खेल नियाल्थेँ ।’

अध्यक्ष दावा लामाका अनुसार क्लबले यस सिजन तेस्रो डिभिजनमा ५० लाख रुपैयाँ खर्च गर्यो । दोस्रो डिभिजन लिगमा उक्लिएकोमा सम्पूर्ण खेलाडी, अफिसियल, समर्थक र प्रायोजकहरुलाई धन्यवाद दिँदै अध्यक्ष लामाले अबको लक्ष्य ‘ए’ डिभिजन लिग भएको बताए ।

‘यस सिजन दोस्रो डिभिजनको यात्रा तय गर्दा लगभग ४५ देखि ५० लाख रुपैयाँ खर्च भएको छ । ‘बी’ डिभिजन लिगमा उक्लिएका छौं । अब दायित्व अझ बढेको छ । हाम्रो लक्ष्य ए डिभिजन लिग हो,’ अध्यक्ष लामाले भने, ‘अबको हाम्रो इच्छा भनेको व्यवसायिक फुटबल हो । यसमा एन्फाको पनि दायित्व छ । फुटबल एउटा क्लबको प्रयासमा मात्र व्यवसायिक बन्दैन । व्यवसायिक फुटबलसहित ए डिभिजन लक्ष्य बनाएका छौं । यसका लागि अझ बलियो प्रायोजकको साथ आवश्यक छ ।’

क्लबलाई दोस्रो डिभिजन लिगमा चढाउन सबै खेलाडीको उत्तिकै योगदान रहे पनि अध्यक्ष लामा फागुराम थारुको प्रदर्शनलाई भने महत्वपूर्ण मान्छन् । यस सिजन सयुक्त रुपमा लिगको उच्च गोलकर्ता बनेका फागुरामले प्रतियोगितामा कुल १५ गोल गरे । उनीसँगै सानेपा क्लबका खेमराज तामाङले १५ गोल गरेका थिए ।

‘फुटबल टिम गेम हो । त्यसैले पहिलो रोजाइबाट खेल्नेदेखि बेन्चमा बस्ने सबै महत्वपूर्ण खेलाडी हुन् । तर, यो सिजन फागुराम थारुको प्रदर्शन महत्वपूर्ण रह्यो । क्लबलाई स्कोर चाहिएको बेला फागुराम नै स्कोरर बन्थे,’ अध्यक्ष लामाले भने ।

फागुरामबाहेक, प्रतियोगितामा प्लानिङकै लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।