विश्वकप छनोट

वेल्स ६४ वर्षपछि विश्वकपमा

लन्डन । वेल्सले ६४ वर्षपछि फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । विश्वकप छनोटको युरोपियन प्लेअफअन्तर्गत आइतबार भएको खेलमा वेल्सले युक्रेनलाई १–० ले पराजित गर्दै कतार विश्वकपमा आफ्नो स्थान पक्का गर्यो ।

वेल्सको जितमा युक्रेनका एन्ड्रिय यार्मोलेन्कोबाट भएको आत्मघाती गोल नै निर्णायक बन्यो । खेलको ३४औं मिनेटमा यार्मोलेन्कोबाट आत्मघाती गोल भएको थियो ।

रुसको सैन्य कारवाहीपछि पहिलो पटक स्कटल्यान्डविरुद्ध विश्वकपको प्लेअफ खेलेको युक्रेन वेल्सविरुद्ध भने निराश बन्यो । प्लेअफको सेमिफाइलनमा युक्रेनले स्कटल्यान्डलाई ३–१ ले पराजित गरेको थियो । युक्रेनले पछिल्लो पटक सन् २००६ विश्वकप खेलेको थियो ।

यता, वेल्सले भने सन् १९५८ पछि पहिलो पटक विश्वकपको यात्रा तय गरेको हो ।