झापा फुटबल क्लब

दृढ अठोट र बलियो लगाबसँगै झापा नेपाली फुटबलको मुलधारमा

काठमाडौं । अठोट बलियो भयो भने बाधा अडचनले रोक्न सक्दैन । नेपाली फुटबलमा यो भनाई बुझ्नका लागि झापा फुटबल क्लबलाई हेरे हुन्छ ।

२०७१ सालमा तत्कालिन अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुरोधमा स्थापित भए लगत्तैको वर्ष राष्ट्रिय लिग खेलेको झापाले दुई वर्ष नबित्दै फेरी एन्फाबाटै बाधा भोग्नुपर्यो । राष्ट्रिय लिगमा पहिलो सहभागितामै सनसनी मच्चाएको झापाले त्यसपछि फेरि त्यो प्रतियोगिता खेल्नै पाएन । झापालेमात्र होइन, त्यसयता राष्ट्रिय लिगको अर्को संस्करण हुन सकेको छैन ।

एन्फा राजनीतिको जोडघटाउका कारण झापाको अस्तित्व मेट्नकै लागि राष्ट्रिय लिग स्थगित गरियो । तर झापा ११ फुटबल क्लबका सल्लाहकार जलकुमार (जेके) गुरुङ हार मान्नेवाला थिएनन् । क्लबको अठोट बलियो थियो ।

एन्फा राजनीतिले नेपाली फुटबलबाटै बाहिर धकेल्न खोजे पनि आफैमा दृढ विश्वास र फुटबलमाथिको बलियो लगाबले फेरी झापा फुटबल क्लबलाई मुलधारमा ल्याएको छ । हो, झापा फुटबल क्लब आठ वर्ष लामो संघर्षका उतारचढाव बेहोर्दै सहिद स्मारक लिग प्रणालीको दोस्रो डिभिजनको हैसियत हासिल गर्न सफल भएको छ ।

उपाधि जितेपछि झापा

‘हामी काठमाडौंको क्लब होइन । सुरुमा लिग खेल्न आउँदा निक्कै समस्या भोग्नु पर्यो । पानीकै कारण कति खेलाडीहरु विमारी परे । तर, ती समस्याहरुलाई चिर्दै लिगको उपाधि जित्न पाउँदा निकै खुसी छौं,’ शनिबार सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेपछि झापा फुटबल क्लबका मुख्य प्रशिक्षक अंगुरकुमार खड्गीले अहिलेसम्मकै संघर्ष र खुसी एकैसासमा सुनाए ।

पहिलो पटक लिग पद्दतीमा भएको प्रतियोगितामा सुरुदेखि नै उत्कृष्ट लयमा रहेको झापाले प्रतियोगिताको उपाधि जित्यो । झापाले उपाधिका लागि निर्णायक तथा लिगको अन्तिम खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गरेको थियो ।

लिगको शीर्ष स्थानमा रहँदै दोस्रो डिभिजनको यात्रा तय गरेको झापाले ‘सी’ डिभिजन लिगका १३ मध्ये ११ खेलमा जित निकाल्दा एक बराबर र एक हारको नतिजासहित ३४ अंक जोडेको थियो ।

पछिल्लो सिजन पहिलो पटक ‘सी’ डिभिजन लिगमा छनोट भएको झापा त्यसबेला पनि राम्रो प्रदर्शनका बावजुद दोस्रो डिभिजनमा उक्लिन सकेको थिएन । तर टोलीले हार नमानी पहिलो सिजनको भोगाइलाई अनुभवमा बदल्दै यसपाली लिगको उपाधि जित्न सफल भएको बताउँछन् प्रशिक्षक खड्गी ।

झापाका मुख्य प्रशिक्षक अंगुरकुमार खड्गी

‘पहिलो सिजनमा देखिएका कमिकमजोरीहरु यस सिजन हामीले सुधार्यौं । व्यवस्थापनदेखि लिएर खेलाडीको व्यक्तिगत समस्यामा पनि हामीले ध्यान दियौं । सोही कारण नतिजासम्म पुग्न सक्यौं,’ खड्कीले भने ।

त्यसो त यस सिजन पछिल्लो पटक लिग खेलेका लक्ष्मण बेगा, पेमा तामाङ, पुजन राई, विशाल राई ‘बी’ गरी चार खेलाडीमात्र झापासँग थिए । टिममा अधिकांश खेलाडी युवा भएकाले झापाले ‘अन्डरडग’ हैसियतमा लिग सुरु गरेको मान्छन् खड्गी ।

राष्ट्रिय लिगबाट षणयन्त्रमुलक ढंगले हटाइए पनि टोलीले त्यसअघि झापा ११ को नाममा मोफसलका थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाएको थियो ।

यस सिजनको लिगकै तयारीका लागि झापाले विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा चार महिना प्रशिक्षण गरेको थियो ।

उपाधि जित्नुमा एक खेलाडीकोमात्र नभई पूरा टिमको उत्तिकै योगदान रहेको खड्गी बताउँछन् ।

‘फुटबल भनेको एक जनाले खेलेर मात्र जित्ने गेम होइन । हामी पनि एक खेलाडीको प्रदर्शनमा उपाधि जित्न सक्षम भएका हैनौं । सबै खेलाडीको उत्तिकै साथ र योगदान छ,’ टोलीका पूर्व खेलाडीसमेत रहेका खड्गीले भने, ‘दोस्रो डिभिजनमा उक्लिएका छौ । अब टोलीले शीर्ष डिभिजनको लक्ष्यसहित तयारी थाल्नेछ ।’

झापाका मुख्य प्रशिक्षक अंगुरकुमार खड्गी

लिगका लागि स्थानीय खेलाडीलाई नै प्राथमिकतामा राखेको झापाले गाउँ–गाउँमा हुने स्थानीय प्रतियोगिताबाट खेलाडी जम्मा पार्दै टिम बनाएको हो । क्लब बलियो बनाउँन एक जनाले एक टिम ल्याउने लक्ष्यसहित क्लबका व्यवस्थापकहरु गाउँ–गाउँ डुले र सबैले ल्याएको टिमबाट पनि उत्कृष्ट खेलाडीहरु छनोट गरियो र लिगका लागि तयार भयो झापा ।

झापाले लिगका लागि सातदोबाटोमा घर नै भाडामा लिएर बस्यो । लिगका लागि २५ देखि ३० लाख खर्च गरेको बताउछन् झापाका व्यवस्थापक पेमु गुरुङ ।

‘हामी मोफसलको टिम । कोभिड १९ महामारीपछि आर्थिक अवस्था निकै असहज बनेको थियो,’ व्यवस्थापक गुरुङले भने, ‘तर, हामी फुटबलप्रति लगाव भएकाले क्लबलाई यहाँसम्म ल्याउन सफल भयौं । लिगका लागि ठ्याक्कै यती भन्ने त छैन, तर २५ देखि ३० लाख खर्च भएको हाम्रो अनुमान छ ।’

उपाधिसँगै झापाले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । यस्तै, लिगको दोस्रो स्थानमा रहेर ‘बी’ डिभिजन लिगको टिकट काटेको प्लानिङ ब्वाइजले ७ लाख र तेस्रो स्थानमा चित्त बुझाएको आरसी ३२ फुटबल क्लबले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

लिगमा उत्कृष्ट प्रदर्शन गरेका झापाकै पारस कार्की प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

लिगको उत्कृष्ट खेलाडी घाेषित भएका पारस कार्की