साम्बाविना मैदान उत्रिन तयार छ महिला टिम

काठमाडौं, (खेलाडी) नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटेले घाइते सावित्रा भण्डारी (साम्बा) विना पनि नेपाली टोली एएफसी एसिया कप छनोटका लागि तयार रहेको बताएकी छिन् । 

बिहीबार बिहान सातदोबाटास्थित एन्फा मुख्यालयको मैदानमा पत्रकारसँग बोल्दै कप्तान रेणुकाले कतार अस्पेटारमा घुँडाको शल्यक्रिया गरी आराम गरिरहेकी सावित्रा उपलब्ध हुने सम्भावना नभएपछि युवा खेलाडीले खेल्नुपर्ने बाध्यताका बीच आफूहरु तयार रहेको उनको भनाई थियो । 

‘स्ट्राइकर पोजिसनमा अहिलेका बहिनीहरु पनि सबै राम्रा आएका छन् । साम्बा (सावित्रा भण्डारी) नभएको मात्रै हो । ‘साम्बा’को स्थानमा अरु बहिनीहरु आएका छन् । साम्बा एउटा नभएर त्यस्तो फरक पर्दैन,’ महिला टोलीकी कप्तान रेनुकाले भनिन् । 

गत फागुनमा भएको महिला राष्ट्रिय लिगमा नेपाल पुलिसविरुद्धको खेल दौरान मैदानमा ‘ल्याण्ड’ हुने क्रममा साम्बाको घुँडामा गम्भीर चोट लागेको थियो । उनको कतारमा शल्यक्रिया भइसकेको छ । उनी अहिले निको हुने क्रममा छिन् । तर मैदान फर्किन भने अझै केही महिना लाग्ने चिकित्सकहरुले बताएका छन् ।