खेलाडी सरुवा

कौटिन्हो भिल्लाको स्थायी खेलाडी

लन्डन । यसै सिजनको सुरुआतमा लोनमा स्पेनिस क्लब बार्सिलोनाबाट एस्टोन भिल्ला आएका फिलिप कौटिन्होलाई क्लबले स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

बार्सिलोनाले बिहीबार सामाजिक सञ्जालमार्फत एस्टोन भिल्लासँग कौटिन्होको सरुवाका लागि २० मिलियन युरोमा सम्झौता भएको जनाएको हो ।

सन् २०१८ मा इङ्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका कौटिन्हो क्याटालन क्लबका लागि अपेक्षा अनुरुपको प्रदर्शन गर्न भने सकेका थिएनन् । उनलाई बार्सिलोनाले एक सय ६० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

बार्सिलोनाबाट एक सय ६ खेल खेलेका कौटिन्होले २६ गोल गरेका छन् । उनले खेलेका एक सय ६ खेलमध्ये बार्सिलोनाले ६५ खेलमा जित, २४ खेलमा बराबर र १५ खेलमा हारको नतिजा आत्मसाथ गरेको थियो ।