म्यानचेस्टर सिटी

सिटी एक खेलाडीको प्रभावमा उपाधि जित्ने टिम होइनः क्लोप

लन्डन । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले एर्लिङ हाल्यान्ड म्यानचेस्टर सिटी भित्रिए पनि पेप ग्वार्डिओलाको टिम उपाधिका लागि एक खेलाडीको भर पर्ने क्लब नभएकाे बताएका छन् ।

प्रिमियर लिगमा यस सिजन उपाधिका लागि लिभरपुलसँग चर्को प्रतिस्पर्धा गरिरहेकाे सिटीले मंगलबार हाल्यान्डको सरुवाका लागि बोरुसिया डर्टमन्डसँग सैद्धान्तिक सहमति भएको जनाएको थियो ।

पछिल्लो वर्ष टोटनहमका स्ट्राइकर ह्यारी केन भित्र्याने दौडमा लागे पनि असफल भएको सिटीबाट हाल्यान्डले यस सिजनपछि सर्जियो अग्युइरोको स्थान लिनसक्ने देखिन्छ । सिटीबाट यसै सिजनको सुरुआतमा स्पेनिस क्लब बार्सिलोना अनुबन्धित भए पनि मुटुको समस्याका कारण अग्युइरोले फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

‘सिटी एक खेलाडीको भरमा उपाधि जित्ने टिम थिएन र हुने पनि छैन,’ क्लोपले भने, ‘उनीहरुसँग खेल्ने विशेष शैली छ । सिटीबाट हाल्यान्डले धेरै गोलहरु गर्न सक्छन् । डर्टमन्डमा हाल्यान्ड केही चोटको सामना गरे । तर, फिट हुँदा उनी एक उत्कृष्ट खेलाडी हुन् । हाल्यान्डसँग समझदारी गर्नु सिटीका लागि निकै राम्रो कुरा हो ।’

हाल्यान्डले यस सिजन डर्टमन्डबाट २९ खेलमा २८ गोल गरेका छन् ।