युरोपा लिग

फ्रयांकफर्ट र रेन्जर्स युरोपा लिगको फाइनलमा

लन्डन । इङलिस प्रिमियर लिगको क्लब वेस्ट हम युनाइटेडलाई बिहीबार सेमिफाइनल दोस्रो लेगमा १-० ले पराजित गर्दै जर्मन बुन्डेसलिगा क्लब इन्ट्रायक्ट फ्रयांकफर्ट युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा २-१ को नतिजा निकालेको फ्रयांकफर्ट समग्रमा ३-१ को  जितसहित अघिल्लो चरणमा प्रवेश गरेको हो ।

१९औं मिनेटमा एसोन क्रेस्वेल रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि वेस्ट हमले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । 

२६औं मिनेटमा रोफेल बोरले गरेको गोलमा फ्रयांकफर्टले अग्रता लिएको थियो । जारी सिजन बुन्डेसलिगाको ११औं स्थानमा रहे पनि फ्रयांकर्फले यस सिजन युरोपा लिगको फाइनल प्रवेश गर्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवित राखेको छ ।

 १८ मे मा सेभियामा युरोपा लिगको उपाधि जितेमा फ्रयांकफर्ट च्याम्पियन्स लिगमा छनोट हुनेछ ।  फाइनलमा फ्रयांकफर्टले रेन्जर्सको सामना गर्नेछ । 

रेन्जर्सले बिहीबार सम्पन्न अर्को सेमिफाइनलमा आरबी लिपजिकलाई ३-१ ले पराजित गर्यो । पहिलो लेगमा १-० ले पराजित भएको रेन्जर्स समग्रमा ३-२ को जितसहित फाइनल प्रवेश गरेको हो ।