आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

एनभिए भलिबलः एपिएफले गण्डकीलाई हरायो

फाइल फाेटाे

काठमाडौं । एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगअन्तर्गत बिहीबार पुरुषतर्फको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा एपिएफले गण्डकी प्रदेशमाथि १८–२५, २५–१९, २५–१८, २५–१० को सेटमा जित निकाल्यो ।

प्रतियोगितामा चार खेल खेलेको एपिएफले ६ अंक जोडेको छ ।

प्रतियोगितामा शुक्रबार महिलातर्फ एक खेल हुनेछ । बिहान १० बजे हुने खेलमा साविक विजेता न्यु डायमन्ड र एपिएफ प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबारै हुने पुरुषतर्फमा भने तीन खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १२ बजे हेल्प नेपाल र गल्कोट प्रतिस्पर्धा गर्नेछन् । दिनको दुई बजे आर्मी र पुलिस तथा चार बजे एपिएफ र ढोरपाटन स्पोट्र्स क्लबबीच खेल हुनेछ ।

क्लब लिगको महिला तथा पुरुष विजेताले समान ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार पाउनेछन् । यस्तै, उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो, प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।