सहिद स्मारक सी डिभिजन लिग

समाज कल्याण र खालिबारीले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत बिहीबारको खेलमा समाज कल्याण खेलकुद केन्द्र र खालिबारी युथ फुटबल क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खेमराज श्रेष्ठले छैटौं मिनेटमा गरेको गोलबाट समाज कल्याणले अग्रता लिएको थियो । तर, ६०औं मिनेटमा सुदीप केसीले गोल गर्दै खालिबारीलाई खेलमा फर्काएका थिए ।

बराबरीसँगै पाँच खेलबाट सात अंक जोडेको समाज कल्याण तालिकाको आठौं स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट ६ अंक जोडेको खालिबारी तालिकाको नवौं स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमीले ओसिस क्लबलाई ४–० ले हराउँदा महाविर क्लब र रानिबारी स्पोर्टस् क्लबले गोलरहित बराबरी खेलेका थिए ।

‘सी’ डिभिजन लिगमा सहाभागी १४ टोलीमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोलीले तेस्रो डिभिजनको हैसियत गुमाउने छन् ।