युरोपा कन्फरेन्स लिग

रोमा युरोपा कन्फरेन्स लिगको फाइनलमा

लन्डन । लेस्टर सिटीलाई सेमिफाइनल दोस्रो लेगमा १-० ले पराजित गर्दै एएस रोमा बिहीबार युरोपा कन्फरेन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गत साता पहिलो लेगमा १-१ को बराबरी खेलेको रोमा समग्रमा २-१ को जितसहित फाइनल प्रवेश गरेको हो ।

युरोपा कन्फरेन्स लिगको फाइनल प्रवेश गरेसँगै रोमाका प्रशिक्षक जाजे माउरिन्होले आफूहरुका लागि यो प्रतियोगिता नै च्याम्पियन्स लिग सरह भएको प्रतिक्रिया दिएका छन् ।

सन् १९६१ पछि रोमा पहिलो पटक युरोपको प्रमुख प्रतियोगिताको  उपाधि संघारमा पुगेको हो । 

‘हामी युरोपको राम्रो क्लब हौ तर उपाधिका हिसाबले भने हामी  पछि रहँदै आएका थियौ,’ माउरिन्होले भने, ‘हामी कुनै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सकेना थिएनौ । सिरी ’ए' मा पनि हाम्रो दरिलो उपस्थिती हुने गरेको छैन । त्यसैले आज प्रिमियर लिगको क्लबलाई निराश पार्दै फाइनल प्रवेश गर्दा म धेरै खुशी छु । यो नै हाम्रा लागि च्याम्पियन्स लिग हो ।'

११औं मिनेटमा ट्यामी अब्राहमले गरेको गोल रोमका लागि फाइनल प्रवेश गर्न पर्याप्त बन्यो ।

फाइनलमा रोमाले फेनोर्डको सामना गर्नेछ । फेनोर्डले बिहीबार सेमिफाइनल दोस्रो लेगमा मार्सेलीसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३-२ को जितसहित फाइनल प्रवेश गरेको हो ।

पहिलो लेगमा फेनोर्डले मार्सेलीलाई ३-२ ले हराएको थियो ।