च्याम्पियन्स लिग

च्याम्पियन्स लिग सेमिफाइनल: लगातार दोस्रो पटक फाइनलको लक्ष्यमा सिटी

मड्रिड । पछिल्लो हप्ता च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सात गोलको ‘क्लासिक’ खेलपछि आज (बुधबार) दोस्रो लेगमा दुई ‘सुपर जायन्ट’ म्यानचेस्टर सिटी र रियाल मड्रिड भिड्दैछन् ।

पहिलो लेगमा ४–३ को जित निकालेको सिटी बर्नबेउमा जितसहित लगातार दोस्रो पटक फाइनलको लक्ष्यमा रहँदा मड्रिड घरेलु मैदानमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने योजनामा हुनेछ । सान्टियागो बर्नबेउमा हुने दोस्रो लेग राति १२:४५ बजेबाट सुरु हुनेछ ।

इत्तिहाद रंगशालामा केभिड डी ब्रुयना, ग्याब्रियल जिसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले साँधुरो जित निकालेको थियो । मड्रिडका लागि करिम बेन्जेमाले दुई गोल गर्दा अर्को एक गोल भिनिसियस जुनियरले फर्काएका थिए ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियाल मड्रिडले हालसम्म १३ पटक उपाधि जितेको छ । मड्रिडले यसै हप्ता स्पेनिस ला लिगाको उपाधि जितेको थियो । यता, सिटीले भने हालसम्म च्याम्पियन्स लिगको उपाधि चुम्न सकेको छैन । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा भए पनि सिटीले उपाधि लागि भने एक अंकले मात्र पछि रहेको लिभरपुलसँग चर्को प्रतिस्पर्धा गरिरहेको छ ।

पछिल्लो सिजन पनि फाइलनसम्मको यात्रा तय गरेको सिटी चेल्सीसँग १–० ले पराजित भएसँगै उपाधिबाट विमुख भएको थियो ।

यी दुई टोलीबीचको विजेताले मे २८ मा पेरिसमा उपाधिका लागि लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइलनमा भियारियाललाई ३–२ ले पराजित गर्दै लिभरपुलले फाइनलमा स्थान सुरक्षित गरेको थियो । लिभरपुलले समग्रमा भियारियालमाथि ५–२ को जित निकालेको हो ।