नेपाली क्रिकेट

नेपाललाई १३७ रनको लक्ष्य

काठमाडौं । ट्वान्टी २० शृंखलाअन्तर्गत तेस्रो खेलमा जिम्बावे ‘ए’ ले नेपालसामू एक सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रनको योगफल तयार गर्यो ।

जिम्बावेका रोय काइयाले सर्वाधिक ४९ रन बनाए । अर्धशतकका लागि एक रनले चुकेका काइयाले ४१ बलमा सात चौका प्रहार गरे । यस्तै, तडिवानासे मरुमणिले २७, लुक जङ्वेले २३ र इनोसेन्ट काइयाले १४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । यसबाहेक, बसिर अहमेद र सोमपाल कामीले समान एक एक विकेट लिए ।

तीन ट्वान्टी २० शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो ट्वान्टी २० खेल भने वर्षाका कारण सम्भव हुन सकेको थिएन । दोस्रो खेलमा ४.३ ओभरमा पुग्दा वर्षा भएपछि खेल रोकिएको थियो । जसमा टस हारेर ब्याटिङमा आएको जिम्बावेले दुई विकेट गुमाएर ४८ रन बनाएको थियो ।

ट्वान्टी २० शृंखलापछि नेपालले जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।