खेलाडी-प्रशिक्षक मतभेद

प्रशिक्षकसँग असन्तुष्ट खेलाडीको समर्थनमा एरिक, दीप, दर्शन र पुजन

काठमाडौं । राष्ट्रिय टिममा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असन्तुष्ट रहेका खेलाडीहरुको समर्थनमा अन्य खेलाडीहरु पनि आएका छन् ।

प्रशिक्षकसँग असन्तुष्ट जनाउँदै प्रशिक्षण छोडेका खेलाडीहरुसँग एरिक विष्ट, दीप कार्की, दर्शन गुरुङ र पुजन उपरकोटीले फेसबुकमा पोस्ट गरेका छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षणमा जायज विषय उठाउँदा खेलाडीप्रति गरिएको व्यवहारप्रति आफूहरुको असन्तुष्ट छ रहेको बताउँदै उनीहरुले सामाजिक सञ्जालमा खेलाडीहरुको समर्थनमा पोस्ट गरेका हुन् ।

यसअघि बुधबार राष्ट्रिय टोलीकी गोलकिपर किरण चेम्जोङले पनि सामाजिक सञ्जालमा प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’

यही विषयलाई लिएर १० असन्तुष्ट खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्ने घोषणा गरेका थिए । https://kheladi.com/football/5013

मंगलबार राति नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीले एकाएक होटल छोडेर निस्किएका थिए । जसमध्ये रोहित चन्दलाई यसअघि नै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमबाट निकालेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) उच्च स्रोतले अब्दुल्लाहसँगको विवाद र रोहितलाई टिमबाट हटाएको भन्ने विषयमा झगडा भएकाले खेलाडीहरुले टिम छाडेको खेलाडीलाई बताएका थिए ।