खेलाडी-प्रशिक्षक मतभेद

'खेलाडीले आधारभूत आवश्यकताको माग पनि गर्न नपाउने हो र?'

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असन्तुष्ट खेलाडीहरुले सत्य तथ्य नबुझी समर्थकबाट प्रश्न उठ्दा दुखित रहेको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट खेलाडीहरुले आफूहरुमाथि अन्याय भइरहँदा आम समर्थकबाट आइरहको नकारात्मक प्रतिकृयाले खेल जीवनकै सार्थकतामा प्रश्न उठेको जनाए ।

पत्रकार सम्मेलनमा खेलाडी संघको प्रतिनिधित्व गर्दै अध्यक्ष विक्रम लामा र विकेश कुथु उपस्थिती थिए ।

पत्रकार सम्मेलनमा कसले के भने?

रोहित चन्द,

मेरो इन्जुरी छ । इन्जुरी सानो हो । तत्कालका लागि रिह्याबमा छु । ठुलो इन्जुरी हो जस्तो लाग्दैन । प्रशिक्षकसँग बाँकी खेलाडीहरुले मलाई ल्याउनुपर्छ भनेर कुरा उठाएका होइनन् । हामीभन्दा ठुलो राष्ट्रिय टिम हो । त्यसैकारण अब कोचले हामी कसलाई बोलाउनु हुन्छ भन्ने थाहा छैन ।

अब्दुल्लाह आएपछि टिममा परिवर्तन भने धेरै भएको छ । पहिलेको तुलनामा हामीले खेलहरु पनि धेरै खेलन पाइरहेका थियौं । तर हामीलाई उहाँसँग व्यक्तिगत रुपमा समस्या छ ।

विशाल राई,

‘रोहितलाई टिममा राख्नुपर्छ भनेर हामीले होटल छाडेका हैनौं । रोहितले खेलाडीको सुविधाको बारेमा कुरा उठाएकाले हामी पनि त्यसमा सहभागी भएका हौं । हामी विद्रोही होइन पिडित हौं ।’

सुजल श्रेष्ठ,

‘मिडियामा भगौडा, विद्रोहीको ट्याग पाउदा दुख लाग्यो । यस्तो ट्याग पाएपछि हामीले यसबारे बोल्न पर्छ भन्ने लाग्यो र त्यसैका स्पष्टिरणका लागि आएका हौं । रोहितलाई टिममा ल्याउनै पर्छ भनेर हामी आएको होइनाैं । रोहितले होटलको बारेमा कुरा उठाएकाले उनलाई निस्केर जा भने । हाम्रो न्युनतम आवश्यकता पनि पूरा भइरहेका छैन ।’

अनन्त तामाङ

‘बारम्बार कोचसँग कुरा गर्न खोज्दा सकेनौं । अब फेरी कोचसँग खेल्न कठिन हुन्छ । एन्फालाई वास्तविकता छानविन गर्न आग्रह गर्छु । कोचले हामीलाई इन्साड फिल्डमा मात्र नभई आउट साइट फिल्डमा पनि धेरै हस्तक्षेप गरेका थिए । सानो सानो कुरामा पनि कोचले डर देखाउँथे । हामीलाई निकै मानसिक दबाब थियो । अब हामीलाई कोचको अन्डरमा खेल्न निकै गाह्रो हुन्छ । यदी अहिलेको यो घटनामा हामी दोषी भयौं भने कारवाहीका लागि तयार छौं तर छानविन हुन पर्यो । हामी एन्फाले निष्पक्ष छानविन गर्छ भन्नेमा विश्वस्त छौं।’

अन्जन विष्ट,

‘रोहित दाईले बोलेको कुरा उनको मात्र थिएन । हामी १० जनामात्र नभई प्रशिक्षणमा सहभागी २५ जनाकै आवाज थियो। रोहित दाईले हाम्रो लागि बोल्दा निस्किनु पर्यो भन्ने कुराले हामीलाई निकै गिल्टी फिल भयो । यसैकारण पछि हामी सबै कोचसँग कुराकानी गर्न गएका थियौं । तर उनले हामीले निस्केर गइहाल भने । कोचले गरेका राम्रो कुराको हामीले एप्रिसियट गरेका छौं । हामी यहाँ कोचको बारेमा नराम्रो भन्न आएका पनि होइनौं ।’

विक्रम लामा,

यसबारे हामीले एन्फालाई हिजो नै जानकारी गराएका थियौं । तर, अहिलेसम्म एन्फाबाट कुनै जवाफ आएको छैन । होस्टलमा न्युनतम आवश्यकता पनि पूरा हुदैन तर होटलमा हुने भएकाले होटलको माग गरिएको हो । म खेलाडी संघको अध्यक्षको रुपमा खेलाडीको पक्षमा बोलिरहेको गरिरहेको छु ।