टाेनी क्रुस

बुन्डेसलिगा पर्याप्त प्रतिस्पर्धात्मक नभएको क्रुसको टिप्पणी

मड्रिड । स्पेनिस क्लब रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुसले बुन्डेसलिगमा बायर्न म्युनिखको वर्चस्व रहनुमा जर्मन लिग पर्याप्त प्रतिस्पर्धात्मक नरहेको टिप्पणी गरेका छन् ।

बायर्नका पूर्व मिडफिल्डर क्रुसले सन् २०१४ मा स्पेनिस क्लब अनुबन्धित हुनुअघि जर्मन क्लबका लागि एक सय ३० खेल खेलेका थिए ।

आइतबार चिरप्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३–१ ले पराजित गर्दै बायर्न लगातार १० पटक घरेलु लिगको उपाधि जित्ने युरोपियन शीर्ष पाँच लिगको पहिलो टोली बनेको थियो ।

‘बुन्डेसलिगा अझ प्रतिस्पर्धात्मक बन्न आवश्यक छ । डर्टमण्ड र लाइपजिग जस्ता टिम चुनौतीका लागि योग्य छन्,’ क्रुसले भने, ‘तर उनीहरु निरन्तर चुनौती प्रस्तुत गर्न भने सक्दैनन् ।’

बायर्नपछि इटालियन क्लब युभेन्टसले सर्वाधिक नौ पटक लगातार घरेलु लिगको उपाधि जितेको छ । युभेन्टसले सन् २०१२ देखि २०२० सम्म लगातार इटालियन सिरी ‘ए’ जितेको थियो ।