नेपाली फुटबल

राष्ट्रिय टोलीमा विद्रोह, पाँच खेलाडी प्रशिक्षणमै आएनन्

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केही खेलाडीले विद्रोह गरेर प्रशिक्षणमा अनुपस्थित भएको खुलेको छ ।

स्रोतका अनुसार मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको खटपटपछि सिनियरसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । अहिले दशरथ रंगशालामा राष्ट्रिय टोलीको बेलुकीको सेसनको ट्रेनिङ भइरहेको छ ।

स्रोतका अनुसार सिनियर खेलाडी रोहित चन्दलाई टिममा नराख्ने चर्चापछि मुख्य प्रशिक्षक र खेलाडीबीच खटपट सुरु भएको हो ।

‘आजबाट रोहितलाई टिम बाहिर राख्ने हल्ला चलेको थियो,’ स्रोतले खेलाडीसँग भन्यो ।

टिमस्रोतले भने सामान्य समस्या देखिएको र बाहिर ल्याउनु पर्ने जस्तो समस्या नभई अभ्यासका क्रममा देखिने घरायसी झगडा भएको बताएको छ । टिममा सामान्य असमझदारी हो, मिल्छ ।

‘बजारमा... मिडियामा आउनुपर्ने जस्तो हल्ला वा झगडा केही होइन,’ स्रोतले भन्यो, ‘यो सानो ‘मिसअन्डरस्टान्डिङ’ मात्रै हो ।’ 

तर, एन्फा उच्च स्रोतका अनुसार पाँच जना खेलाडीले विद्रोह गरेका हुन् ।

‘पाँच खेलाडीले विद्रोह गरेका हुन्, प्रशिक्षणमै अनुपस्थित भएपछि अहिले अखिल नेपाल फुटबल संघ (एन्फा)अध्यक्ष कर्माछिरिङ शेर्पासँग पाँचै खेलाडीको वार्ता भइरहेको छ,’ एन्फा उच्च स्रोतले भन्यो ।