म्यानचेस्टर युनाइटेड

रासफोर्डलाई आरामको आवश्यकता रहेको साहाको टिप्पणी

लन्डन । म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर लुइस साहाले इङ्लिस स्ट्राइकर मार्कस रासफोर्डलाई आरामको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।

हाल युनाइटेडमा स्वभाविक लय भेट्टाउन संघर्षरत रासफोर्डलाई साहाले छुट्टी मनाउन लस भेगासमा जान सुझाएका हुन् ।

सन् २०१६ मा लुइस भान गालको प्रशिक्षणमा पहिलो पटक युनाइटेडको ‘ए’ टिममा परेका रासफोर्डलाई त्यसबेला युनाइटेडको नयाँ स्टारको रुपमा चित्रण गरिएको थियो ।

यस सिजन निकै खराव लयमा रहेका रासफोर्डको प्रदर्शनकै कारण ओल्ड ट्राफोर्डमा उनको भविष्यमाथि प्रश्न उठ्न लागेको छ । तर, साहाले रासफोर्डलाई आफ्नो लयमा फर्कन आरामको आवश्यकता भएको बताएका हुन् ।

‘मेरो विचारमा रासफोर्डलाई आरामको आवश्यकता छ । उनले लस भेगासमा छुट्टी मनाउन र रमाइलो गर्न जानुपर्छ । उनले आफूलाई आत्मविश्वासी बनाउन आवश्यक छ,’ उनले भने, ‘मेरो लागि रासफोर्ड उत्कृष्ट खेलाडी हुन् । उनले केही समय आराममा रहेर आफ्नो करियरको बारेमा सोच्न आवश्यक छ । हाल युनाइटेडमा संघर्ष गरिरहेका भए पनि रासफोर्ड भविष्य निकै राम्रो छ ।’