रियाल मड्रिड

कासेमेरोले सिटीविरुद्धको दोस्रो लेग खेल्नेछन्: एन्सेलोट्टी

मड्रिड । स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा मिडफिल्डर कासेमेरो उपलब्ध हुने पुष्टि गरेका छन् ।

मंगलबार राति च्याम्पियन्स लिगको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग ४–३ ले पराजित हुँदा कासेमेरो टिमको वैकल्पिक खेलाडीको सूचीमा रहे पनि बेन्चमै बसेका थिए । जसको कारण रियालको डिफेन्सिभ मिडफिल्डमा कमजोरी देखिएको थियो ।

प्रशिक्षक एन्सेलोट्टीले तिघ्राको समस्याका कारण पहिले लेग गुमाएका कासेमेरो दोस्रो लेगमा फर्किने जनाएका हुन् ।

‘कासेमेरो दोस्रो लेग खेल्नेछन् । हामीले अलावाको मुल्यांकन गर्नेछौं । अलावामा केही समययता समस्या देखिएको छ’, एन्सेलोट्टी, ‘र, उनको समस्यालाई नबढाउन हामीले समयमै उचित निर्णय लिन आवश्यक छ । मलाई लाग्छ अलावा र कासेमेरो दुबै दोस्रो लेगका लागि पूर्ण फिट हुनेछन् ।’