च्याम्पियन्स लिग

च्याम्पियन्स लिग सेमिफाइनल: १३-०

मड्रिड । युइएफए च्याम्पियन्स लिगमा रियाल मड्रिडको इतिहास अरू सबै क्लबको भन्दा उत्कृष्ट छ भन्ने पेप ग्वार्डिओलालाई थाहा छ ।

च्याम्पियन्स लिग सेमिफाइनलमा उनको क्लब म्यानचेस्टर सिटी र रियालविरुद्धको खेलअघिको पत्रकार सम्मलेनमा बोल्दै ग्वार्डिओलाले इतिहासमा आफ्नो टोली कमजोर रहेको बताएका थिए । यदि यो खेल इतिहासले निर्धारण गर्ने हो भने आफ्नो टोलीले प्रतिस्पर्धा गर्न नसक्ने उनको राय थियो ।

‘यदि हामीले उनीहरूको इतिहासविरुद्ध खेल्ने हो भने हाम्रो कुनै चान्स छैन,’ ग्वार्डिओलाले भने, ‘यो पक्षमा उनीहरू उत्कृट छन् । तर, हामीसँग उनीहरूसँग भिड्ने इच्छा छ, र यो अविस्वसनीय परीक्षण हुनेछ ।’

यी दुई बीचको इतिहास हेर्ने हो भने एकपक्षीय रूपमा रियाल हाबी देखिन्छ । किनभने, युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगमा सफलताको मापनमा रियाल १३–० ले अगाडि छ ।

रियालसँग सर्वाधिक युरोपियन कप/च्याम्पियन्स लिगको उपाधि छन् भने सिटी पहिलो जित्न अझै प्रयासरत छ ।

पछिल्लो सिजन पहिलो पटक फाइनलमा पुगेको सिटी चेल्सीसँग १-० ले पराजित हुँदा उपाधि नजिक पुगेर वञ्चित भएको थियो ।

र, यो सिजन सिटीले च्याम्पियन्स लिगको उपाधि भोक मेटाउन पहिलो चरणमै लगातार दुई शताब्दीकै सर्वाधिक क्लबलाई पराजित गर्नुपर्छ । रियालले २०औं शताब्दीमा सर्वाधिक ६ पटक र २१औं शताब्दीमा पनि सर्वाधिक ७ गरी कुल १३ पटक यो उपाधि जितिसकेको छ । यो कुनै अन्य क्लबसँग तुलना गर्न नसकिने सफलता हो ।

अझै रियाल मात्रै यस्तो टिम हो, जसले लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । सन् २०१६, १७ र १८ मा जिनेदिन जिदान नेतृत्वको रियालले लगातार युरोपेली क्लब फुटबलको सर्वोच्च उपाधि जितेको थियो ।