इटालियन फुटबल

अर्जेन्टिनाविरुद्धको खेलपछि सन्यास लिँदै केलिनी

रोम । इटालियन कप्तान जर्जियो केलिनीले अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिने पुष्टि गरेका छन् ।

केलिनीले इङ्ल्यान्डको वेम्बली रंगशालामा हुने अर्जेन्टिनाविरुद्धको खेलपछि सन्यास लिने जनाएका हुन् । कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीच जुन एकमा खेल हुने तालिका छ ।

युभेन्टसका कप्तान समेत रहेका ३७ वर्षीय केलिनीले इटाली सन् २०२० को युरोपियन च्याम्पियन बन्दा टोलीको नेतृत्व सम्हालेका थिए ।

‘यदी म फिट रहे भने म वेम्बलीमा खेल्नेछु र त्यसपछि राष्ट्रिय टिमबाट विदा लिनेछु, जहाँ म मेरो करियरको सबैभन्दा उच्च विन्दुमा हुनेछु,’ केलिनीले भने, ‘अर्जेन्टिना जस्तो टिमसँगै खेल्दै इटालीको राष्ट्रिय टिमबाट विदा लिन पाउनु निकै खुसीको कुरा हो । अर्जेन्टिनाविरुद्धको खेल इटालीको राष्ट्रिय टोलीबाट मेरो अन्तिम खेल हुनेछ ।’

केलिनीले सन् २००४ मा २० वर्षको हुँदा इटालीबाट ‘डेब्यु’ गरेका थिए । करिव दुई दशक लामो अन्तर्राष्ट्रिय करियरका दौरान एक सय १६ खेल खेलेका केलिनी इटालीबाट सर्वाधिक खेल खेल्ने चौथो खेलाडी हुन् ।