‘सी’ डिभिजन लिग छनोटको तालिका सार्वजनिक 

काठमाडौं, (खेलाडी)- सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । 

शुक्रवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा तालिका सार्वजनिक गरेको हो । 

भदौ १० गतेबाट उपत्यकाका सुरु हुने उद्घाटन खेलमा समूह ‘ए’ का   सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । 

कार्तिक ८ गते सम्पन्‍न हुने लिगमा देशभरबाट ७८  क्लब सहभागी भएका छन् । यसअघि एन्फाले २५ जिल्लाका ७९ क्लब सहभागी हुने बताए पनि तालिका सार्वजनिक हुनुअघि काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिएको थियो । काठमाडौं युनाइटेडका प्रतिनिधिले कोरोनाको कारण लिग नखेल्ने बताए । 

एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब छन् । लिग कम नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा प्रत्येक क्लबले कम्तिमा दुई खेल खेल्नेछन् ।

एन्फाका अनुसार प्रत्येक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरणदेखि नक आउट प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणमा पुग्‍ने टिमले तीन समूहमा बाँढिएर प्रतिस्पर्धा गर्नेछन् । जहाँ तीन समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । 

तालिका सार्वजनिक कार्यक्रममा बोल्दै एन्फा लिग संयोजक विज्ञानराज शर्माले ‘सी’ डिभिजन छनोटमा क्लबहरुको सहभागिता उल्लेख्य रहेको र आगामी वर्ष झनै बढ्ने बताए । यस्तै उनले अर्को वर्षबाट पायक पर्ने प्रदेशमा पनि छनोट खेल खेलाउने प्रतिबद्धता जाहेर गरे ।

लिग कमिटीका निर्देशक सञ्‍जीव मिश्रले क्लब आफैले खेलाडीको इन्स्योरेन्स गर्नुपर्ने बताए । यस्तै उनले खोप लगाएको खेलाडीले पिसिआर गर्नु नपर्ने र दर्शकको उपस्थितिविना खेल आयोजना हुने जानकारी गराए । 

लिगमा बागमती प्रदेशबाट ६१, प्रदेश नम्बर १ बाट ७ तथा अन्य प्रदेशबाट दुई दुई क्लब सहभागि छन् ।